जेठ ०४, २०८१, शुक्रबार
               

जनअपेक्षानुरूप काम गर्न निर्देशन

नेपाल फ्ल्यास
पुस १०, २०७७

ADVERTISEMENT

गण्डकी । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले जनअपेक्षानुरूप काम गर्न वडाध्यक्ष एवं वडासचिवहरूलाई निर्देशन दिएका छन् । महानगरपालिकाको आर्थिक वर्ष २०७७–७८ को बिहीबार आयोजित प्रथम चौमासिक प्रगति समीक्षा बैठकमा उनले स्वच्छ प्रणालीको विकास गरी वडा कार्यालयका समस्या समाधान गर्ने कार्यमा आफू लागिपरेको बताए ।

सुशासनको प्रत्याभूत हुने गरी काम गर्न आग्रह गर्दै जिसीले वडाले भोग्दै आएको आर्थिक व्यवस्थापनको समस्या केही दिनभित्रै समाधान हुने उल्लेख गरे । महालेखा परीक्षकको कार्यालय र नेपाल राष्ट्र बैंकले महानगरका वडामा खाता सञ्चालनको अनुमति दिइसकेकाले विगतजस्तो समस्या नहुने उनको भनाइ छ ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले जनताका काममा भएको ढिलासुस्तीमा प्रशासनलाई मात्र दोष दिन नहुने बताए । बजेट बनिसकेपछि मात्र आफू पोखरा महानगरमा नियुक्त भएको भन्दै उनले समस्याको पहिचान गरेर निकास दिने गरी काम गर्ने बताए । कर्मचारी र जनप्रतिनिधिको साझा लक्ष्य जनताको सेवा नै भएकाले एक भएर अगाडि बढ्नुपर्ने उनले बताए ।

महानगरपालिकाका शहरी योजना आयोगका उपाध्यक्ष डा. आरसी लामिछानेले विकास जहिले पनि चलायमान हुने भएकाले भोलिका सन्ततिले याद गर्ने किसिमको विकास आजको आवश्यकता भएको औँल्याए ।

बैठकमा पोखरा महानगरका ३३ वटै वडाका वडाध्यक्ष र सचिवले चार महिनाको अवधिमा गरेका भौतिक पूर्वाधारका काम बाटोघाटो, बिजुली, खानेपानी, पुलपुलेसा विकास निर्माण आदिबारे अवगत गराएका थिए ।

कोरोना भाइरस सङ्क्रमणका कारण विकासका काममा सोचेजस्तो प्रगति हुन नसकेको र वडाको विकास बजेट अपुग भएको, खाता सञ्चालन नहुँदा उधारोमा धेरै काम गर्नुपरेको उनीहरूको गुनासो छ ।

विशेषतः गाउँ विकास समितिबाट सिधै पोखरा महानगरमा गाभिएका वडाहरूले विकास बजेट थोरै हुनुलगायतका कारण जनअपेक्षानुसार काम हुन नसकेको समस्या सुनाएका थिए ।


कस्तो लाग्यो ?

यो पनि