काठमाडौं । कलंकीमा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
थानकोटबाट कलंकी आउँदै गरेको प्रदेश २–०३–००१ ख १४३० नम्बरको ट्रकको ब्रेक फेल भई शुक्रबार साँझ ढुंगेअड्डामा अन्य ६ वटा सवारी साधनलाई ठक्कर दिएको थियो ।
शनिबार बिहान ट्रक निकाल्ने क्रममा ट्रकमुनि च्पापिएको अवस्थामा थप एक जनाको शव भेटिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता डिएसपी प्रमेश विष्टले जानकारी दिए ।
उक्त शव धादिङ थाक्रे घर भई हाल ढुंगेअड्डामा होटल सञ्चालन गर्दै आएका ३१ वर्षीय राजु पौडेल रहेको प्रवक्ता विष्टले बताए ।
यसैबीच, सोही दुर्घटनाका घाइते भएका सप्तरीका २६ वर्षीय रञ्जीत चौधरीको पनि आज (शनिबार) बिहान उपचारको क्रममा मृत्यु भएको छ । उनको सहिद मेमोरियल अस्पतालमा मृत्यु भएको हो ।
ओखलढुंगा घर भएका ३० वर्षीय शंकर परियारको शुक्रबार साँझ घटनास्थलमै मृत्यु भएको थियो । योसँगै दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएकामध्ये पाँच जनाको सहिद मेमोरियल अस्पताल कलंकी र एक जनाको बयोधा अस्पताल बल्खुमा उपचार भइरहेको छ ।
दुर्घटना परेर ३० वर्षीय गणेश शर्मा, २२ वर्षीय साजन खत्री, धादिङ घर भएका ३६ वर्षीय रामचन्द्र सिंखडा, कलंकी घर भएका सुजन मानन्धर, बानेश्वरका २४ वर्षीय विशाल श्रेष्ठ र कास्की घर भएकी सन्ध्या थिङ घाइते छन् ।