काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (शनिबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ ।
महाशाखाका अनुसार आज बिहानैदेखि देशका अधिकांश पहाडी क्षेत्रमा मौसम सामान्य बदली भइ हल्का वर्षा र हिमपातको संभावना रहेको छ । त्यस्तै, दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ ।
साथै, सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशका उच्च हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको संभावना रहेको छ भने प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको संभावना समेत रहेको महाशाखाले जनाएको छ ।
यसैगरी, राती पनि प्रदेश १, प्रदेश २ र बागमती प्रदेश तथा सुदुर पश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रहने र बाँकी भू(भागमा आंशिक बदली रहने बताइएको छ ।
साथै, हिमाली भू–भागमा हल्कादेखि मध्यम खालको हिमपातको संभावना र प्रदेश १ को पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको संभावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।