पोखरा । गण्डकी प्रदेशअन्तर्गत नवलपरासी (पूर्व) र कास्कीमा दुई छुट्टाछुट्टै दुर्घटनामा एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
नवलपुरको मध्यविन्दु नगरपालिका–९ वसन्तपुरस्थित भित्री सडकखण्डमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको थुम्कीदेवी बोर्डिङ स्कूलको ग १ क २४८३ नं. को बसले विपरीत दिशातर्फ जाँदै गरेको लु २० प २४३७ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा नगरपालिका–१३ बस्ने मोटरसाइकलमा सवार २६ वर्षीय सन्तबहादुर कुमालको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटना भएसँगै नेपालीसहित सोही स्थान बस्ने मोटरसाइकल चालक मनु विक र तुलबहादुर खाम्चा मगरलाई उपचारका लागि पुरानो मेडिकल कलेज चितवन पठाइएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रनाउ राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।
घाइते दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै कास्कीको पोखरा महानगरपालिका–१४ चाउथेस्थित ओरालोमा ग ४ प ५६४८ नं. को मोटरसाइकल आफैँ अनियन्त्रित भई पल्टिएर दुर्घटना भएको छ ।
सो दुर्घटनामा मोटरसाइकल चालक पोखरा–२१ राम्दी बस्ने विजय नेपाली घाइते भएका छन् ।
नेपालीलाई उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल पोखरा पठाइएको प्रहरीले जनाएको छ ।