असोज ०६, २०८१, आइतबार
               

३९४ औँ हप्तामा बागमती सफाइ महाअभियान

नेपाल फ्ल्यास
मंसिर १३, २०७७

ADVERTISEMENT

बागमती सफाइ महाअभियानको ३९४औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रमा अभियानकर्मी एवं अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य माला खरेलको नेतृत्वमा सफाइ गरियो । 

पशुपतिको आर्यघाट एवं भष्मेश्वर घाट क्षेत्रमा बढी फोहर भेटिएको उहाँले बताउनुभयो । कोरोना त्रासका कारण भौतिक दूरी कायम गरेर नदी किनार नजिक निवास भएका अभियानकर्मी मात्र उपस्थित रहेकाले सबै फोहर टिप्न नसकिएको अभियानकर्मीको भनाइ छ ।
 
सफाइसँगै पशुपति क्षेत्रमा आएका भक्तजनलाई करिब १५० वटा गुर्जोका बिरुवा समेत वितरण गरिएको अभियानकर्मी खरेलले बताए । पशुपति क्षेत्रको सफाइमा अभियानकर्मी प्रमिला पौडेल, गङ्गा पुरी, सुष्मा भेटवाललगायत अभियानकर्मीको सक्रियता थियो । पशुपतिनाथको मूल मन्दिर भने चैतदेखि नै बन्द गरिएको छ । मन्दिर पुसदेखि खोल्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा अनुरोध गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
 
यसैगरी शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ गरिएको छ । बागमती किनारमा पुराना जस्ता गाडिएर रहेको भेटिएकाले त्यसलाई निकालेर व्यवस्थापन गरिएको छ । अधिकार सम्पन्न बागमतीले नदी किनारमा पर्खाल लगाउने कामदारलेसमेत बोरा नदीमै फालेर फोहर गरेकाले टिप्न लगाइएको अभियानकर्मी पौडेलले जानकारी दिइन् । 

कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको अभियानकर्मीले जनाएका छन् । सफाइपछि बागमतीको ४०० हप्ताको तयारीका लागि छलफल गरिएको थियो । आगामी पुस २५ गते सफाइ महाअभियानको ४०० हप्ता विशेषरुपमा मनाउने तयारी भइरहेको छ । यस क्षेत्रको सफाइमा चक्रबहादुर चन्द, प्रिया लामिछाने, रामशरण कार्कीलगायत अभियानकर्मी सक्रिय थिए ।


कस्तो लाग्यो ?

यो पनि