भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाको नेपाल भ्रमणको क्रममा नेपालले सीमा विवादका बारेमा पनि कुराकानी गर्ने तयारी गरेको छ । दुई देशबीचको लामो संवादहीनताका बीच भारतीय विदेश सचिवको औपचारिक भ्रमणमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उच्चस्तरीय राजनीतिक संवाद गर्न नेपालले चाहेको सन्देश पठाउने नेपाल पक्षको तयारी छ ।
भारतका नवनियुक्त विदेश सचिव श्रृंगलाको नेपालमा पहिलो शिष्टाचार भ्रमणको क्रममा सीमा समस्याका साथै द्विदेशीय सम्बन्धको जटिलता र सामयिक परिस्थिति हेरेर नेपालले बहुपक्षीय एजेन्डा प्रस्तुत गर्ने जनाइएको छ ।
झन्डै एक वर्ष लामो कूटनीतिक र राजनीतिक संवादहीनतापछि ‘पोजिटिभ नोट’ का रूपमा देखा परेको भारतीय विदेश सचिव श्रृंगलाको यो भ्रमणलाई नेपालले उपयोग गर्नुपर्ने अवस्था रहेकोले नेपालले सीमा समस्याका विषय प्रमुखताका साथ उठाउन चाहेको बुझिएको छ ।
सीमा र नेपाल–भारत प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी) ले तयार पारेको प्रतिवेदन बुझ्न भारतले अझै मानिरहेको छैन । त्यसलाई दुवै देशले बुझेर थप छलफलमा लैजानुपर्ने चाहना नेपालको छ । यही सन्देश नेपालले मोदीलाई दिन चाहेको परराष्ट्र मन्त्रालयका एक अधिकारीले बताए । विदेश सचिवको भ्रमणमा द्विदेशीय राजनीतिक नक्सा र सिमाङ्कन समस्यालाई प्राथमिकतामा राखेर कुराकानी गरिने जनाइएको छ ।
यसबारे औपचारिक छलफलको एजेन्डा नभए पनि अनौपचारिक रुपमा कुरा गर्ने तयारी भएको मन्त्रालयले जनाएको छ । विदेश सचिवको भ्रमण अवसरमा बिहीबार नै सचिव स्तरीय संयन्त्रको बैठकसमेत हुनेछ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुराको भौगोलिक अवस्थिति र प्रामाणिक आधारमा नेपालले सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साबारे कुराकानी गर्ने तयारी नेपाली पक्षले गरेको परराष्ट्र मन्त्रालयका अधिकारीहरूले बताए ।
परराष्ट्र सचिव भरतराज पौड्यालले भने ‘द्विदेशीय सीमावर्ती मामिलासहित प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदन, ट्रान्समिसन लाइन, आर्थिक सहयोग एवं व्यापार, ऊर्जालगायतका विषयमा कुराकानी गर्ने एजेन्डा छ ।’
अहिले सचिव स्तरीयमा भएको वार्ता सफल भएमा राजनीतिक तहमा पनि वार्ता गर्ने बाटो खुल्ने भएकाले बहुपक्षीय विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयका सहसचिव तथा प्रवक्ता सेवा लम्साल बताउँछिन् ।
उनी भन्छन् ‘भारतीय विदेश सचिव श्रृंगलाको यो भ्रमणलाई नेपालले उपयोग गर्नुपर्ने अवस्था छ, नेपालले सीमा समस्याका साथै द्विदेशीय सम्बन्ध, तथा सामयिक परिस्थिति हेरेर बहुपक्षीय एजेन्डामा छलफल हुनेछ, यो छलफलले राजनीतिक तहमा समेत छलफल गर्ने बाटो खुला हुनेछ भन्ने विश्वास लिएका छौँ । यसले नेपाललाई भारतसँग उच्चस्तरीय वार्ता गर्न सहयोग गर्ने छ।’
श्रृगलाको यस्तो छ भ्रमण तालिका
बिहीबार दिउँसो याक एन्ड यती होटेलमा द्विदेशीय सचिव स्तरीय संयन्त्र बैठक रहेको छ । त्यसपछि विदेश सचिव शृङ्गलाले प्रधानमन्त्री ओली तथा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । शृङ्गलाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग पनि शिष्टाचार भेटवार्ता गर्दैछन् ।
सन् १९८७ मा गठन भएको परराष्ट्र सचिव स्तरीय संयन्त्रले नियमित र अर्थपूर्ण रूपमा काम गर्न नसकेको समयमा उनको भ्रमण भएकाले यसलाई उपलब्धि लक बनाउने नेपालको तयारी छ ।