असोज ०६, २०८१, आइतबार
               

महिला हिंसा अन्त्य गर्न फेकोफनको आग्रह

नेपाल फ्ल्यास
मंसिर १०, २०७७

ADVERTISEMENT

काठमाडौं । महिलामाथि हुने सबै किसिमका हिंसाको अन्त्य गर्न सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय महिला हिंसा अन्त्य दिवसको अवसरमा आज आयोजित कार्यक्रममा फेकोफनका अध्यक्ष भारती पाठकले स्थापनाकालदेखि नै महिला र पुरुषबीचको समानतालाई मुख्य प्राथमिकतामा राखेको बताइन् ।

‘सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता मात्र नभई समूहका महिला पदाधिकारी समेत समय–समयमा हिंसाको सिकार भएका छन्, त्यसका विरुद्धमा महासङ्घले सधैँ आवाज उठाउने गरेको छ’, उनले भनिन्, ‘हाम्रा लागि ३६५ दिन नै हिंसाविरुद्धको दिवस हो ।’

महिलामाथि हुने हिंसाका लागि सरकार मात्र नभई समाज र समाजका विभिन्न सामाजिक संस्थासमेत जिम्मेवार हुनुपर्नेमा उनको जोड छ । महिला हिंसा अन्त्यको लागि स्थापनाकालदेखि महासङ्घले विभिन्न दबाबमूलक काम गर्दै आएको छ । 

सो अवसरमा महाङ्घका सचिव ठाकुर भण्डारीले दिवसका उपलक्ष्यमा १६ दिनसम्म महासङ्घका तर्फबाट देशभर विभिन्न सचेतनामूलक कार्यक्रम गर्ने जानकारी दिए । 

यो वर्ष कोभिड–१९ का कारण भौतिक कार्यक्रम सम्भव नभएकाले सामाजिक सञ्जाल र विभिन्न मिडियामार्फत आफ्ना गतिविधिलाई थप प्रभावकारी बनाइने उनले बताए । 

कार्यक्रममा महासङ्घका कार्यकारी निर्देशक डा. सीता अर्यालले महासङ्घले गर्ने नियमित गतिविधिमध्ये यो दिवस पनि महत्वपूर्ण रहेको बताइन् । यस दिवसका उपलक्ष्यमा महासङ्घले लैङ्गिक हिंसाविरुद्धको प्रतिबद्धताः व्यक्ति, समाज र सबैको ऐक्यबद्धता भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरेको छ । 

साथै वन क्षेत्रको व्यवस्थापनमा ग्रामीण महिलाको योगदानः लैङ्गिक हिंसामुक्त वन क्षेत्र हाम्रो अभियान भन्ने कुरालाई पनि महासङ्घले मुख्य प्राथमिकतामा राखेको छ । आजदेखि सुरु भएको यो दिवस यही मङ्सिर २५ गते समापन हुनेछ । 


कस्तो लाग्यो ?

यो पनि