असोज ०६, २०८१, आइतबार
               

दोलखा भीमसेनलाई पसिना आयो

नेपाल फ्ल्यास
मंसिर ०९, २०७७

ADVERTISEMENT

दोलखा । सुप्रसिद्ध भीमेश्वर मन्दिरका देवता भीमसेनलाई पसिना आएको छ । 

भीमसेनलाई पसिना आउँदा देशमा अनिष्ट वा शुभ नहुने धार्मिक मान्यता रहँदै आएको छ । भीमेश्वर मन्दिरका देवता भीमसेनलाई  १८ औं पटक पसिना आएको बताइएको छ ।

यस अघि २०७६ फागुन ८ गते १७ औं पटक भीमसेनलाई पसिना आएको थियो । गत वर्ष सवा घण्टासम्म पसिना आउँदा देशमा कोरोना भाइरसको महामारी भित्रिएको जनविश्वास रहँदै आएको छ । 

गत चैत ११ गतेदेखि लकडाउन गरेर ११५ दिनपछि केही महिनाअघि नियमित पूजाको लागि खोलिएको मन्दिर एकहप्ता पछि पुन बन्द गरिए यता हालसम्म पनि सर्वसाधारणको लागि मन्दिर बन्द रहँदै आएको थियो ।

मंगलबार दिउँसो २ बजेदेखि भीमेश्वरको शिलामा निरन्तर पसिना आइरहेको छ । भीमेश्वर मन्दिर तथा पूजा व्यवस्थापन समितिका अध्यक्ष भरत श्रेष्ठले १८ औं पटक पसिना आएको जानकारी दिए । 

भीमेश्वरको शिलाको दायाँ बायाँ दुवै भागबाट पसिना आएको उनले बताए ।

दायाँ पट्टिबाट पसिना आउँदा राजापक्षलाई र बायाँपट्टिबाट पसिना आउँदा जनतालाई अनिष्ट हुने धार्मिक मान्यता छ । भीमेश्वरको शिलामा पसिना आए पछि मन्दिर व्यवस्थापन तथा गुठियारहरुले स्थानीय रुपमा क्षमा पुजा अर्चना गरेका छन् ।

थप क्षमा पूजाको लागि शिलामा आएको पसिना पुछेको रुवा जिल्ला प्रशासन कार्यालयको रोहवरमा गृहमन्त्रालयमार्फत राष्ट्रपतिको कार्यालयमा पुर्‍याउने व्यवस्था गरिएको छ । 

राजाको पालामा पसिना आउँदा भने राजदरबाट क्षमा पूजाको लागि पञ्चवली पठाउने चलन रहेको थियो ।


कस्तो लाग्यो ?

यो पनि