असोज ०६, २०८१, आइतबार
               

नेपाल-भारत सीमास्थल जौबारीमा बिओपी स्थापना

नेपाल फ्ल्यास
मंसिर ०९, २०७७

ADVERTISEMENT

इलाम । नेपाल–भारत सीमास्थल जौबारीमा सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ ।

इलामको सन्दकपुर गाउँपालिका–५ स्थित जौबारीमा स्थापित बिओपी प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की र प्रदेशका कृषिराज्यमन्त्री राम रानाले संयुक्तरूपमा उद्घाटन गरेका हुन् ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १ गण इलामअन्तर्गत स्थापना भएको सो बिओपी सीमा सुरक्षा, सीमा क्षेत्रमा हुने चोरीपैठारी निकासी नियन्त्रण, सीमा अपराध नियन्त्रणलगायतका विविध कामकारवाहीमा परिचालित हुने सशस्त्र प्रहरी बल इलामका प्रहरी उपरीक्षक सुधीरजङ्ग थापाले जानकारी दिए ।

इलाम सदरमुकामदेखि करिब ३९ किलोमिटरको दूरीमा नेपाल–भारत सीमा नाकाभन्दा करिब एक किलोमिटर वर स्थापना गरिएको उक्त बिओपीले सोमबारदेखि नै दैनिककार्य सञ्चालन गरेको छ ।

नेपाल सरकारको नीतिअनुरूप सिमानालाई अझ मजबुद बनाउन तथा सीमा अपराध नियन्त्रण र रोकथाम गर्नका लागि सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्ट थप गर्दै लगिएको हो ।

इलामको सलकपुर, छब्बीसे, समालबुङ, कालपोखरीलगायतका स्थानमा यसअघि नै बिओपी स्थापना भइसकेको छ । 

बिओपी उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली जौबारी आउने कार्यक्रम तय भएको थियो तर प्रतिकूल मौसमका कारण जहाज अवतरण गराउन नसक्दा समस्या भएको थियो ।

प्रधानमन्त्री ओली सवार जहाज इलाममा अवतरण गर्न नसकेपछि विराटनगरमा अवतरण गराइएको हो । 


कस्तो लाग्यो ?

यो पनि