असोज ०६, २०८१, आइतबार
               

कोरोनाको नाममा धेरैले बिमा दाबी गर्न थालेपछि संक्रमितको नाम रुजु

नेपाल फ्ल्यास
मंसिर ०८, २०७७

ADVERTISEMENT

काठमाडौं । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (इडिसिडी) ले कोभिड–१९ को बिमा दाबी गर्नेको सङ्ख्या बढेपछि रुजु गर्न थालेको छ। यसका लागि महाशाखाले वरिष्ठ जनस्वास्थ्य अधिकृत महेन्द्रध्वज अधिकारीको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरी रुजु गर्न सुरुवात गरेको हो । 

बिमा समितिसँग समन्वय गरेर इडिसिडीले रुजु गरिरहेको उहाँले जानकारी दिए । उनका अनुसार अहिलेसम्म ५३० जना कोभिड–१९ सङ्क्रमित व्यक्तिको बिमाका लागि रुजु गरिसकेको छ । 

रुजु गर्ने क्रममा १५ प्रतिशतको विवरण नमिलेको जनाइएको छ । समितिले इडिसिडीमा प्राप्त विवरण र प्रयोगशालाले पठाएको विवरणबीच रुजु गरिरहेको छ ।  

‘सङ्क्रमित हो वा होइन भनेर दुवैबाट प्राप्त विवरणलाई रुजु गर्ने गर्दछौँ’, समितिका संयोजक अधिकारीले भने, ‘दुवैमा मिलेपछि मात्र हामीले बिमाका लागि सिफारिस गर्दछौँ ।’ समितिले रुजु गरिसकेपछि मात्र बिमाबापतको रकम पाउनेछन् । उक्त समितिले नाम, उमेर र ठेगाना रुजु गर्ने गर्दछ । 

विसं २०७७ भदौ २८ अगाडि बिमा गरेका कोभिड–१९ को सङ्क्रमित ५० हजार र एक लाख बिमा तथा भदौ २९ गतेपछि बिमा गरेकाले २५ हजार र ७५ हजार रुपैयाँ पाउने गर्दछन् ।

बिमा समितिका कार्यकारी निर्देशक तथा प्रवक्ता राजुरमण पौडेलले गलत रिपोर्ट लिएर बिमा दाबी गर्न थालेपछि रुजु गर्न थालिएको बताए । 

उनका अनुसार अहिलेसम्म करिब २५ हजार जनाले बिमा दाबी गरेका छन् । अहिलेसम्म नेपालमा दुई लाख २० हजार ३०८ जना सङ्क्रमित भएका छन् । यस्तै एक लाख ९९ हजार २४ जना निको र एक हजार ३२१ जना सङ्क्रमणबाट निधन भइसकेको छन् ।


कस्तो लाग्यो ?

यो पनि