कात्तिक ३०, २०८१, शुक्रबार
               

विदेशबाट फर्केकालाई नगरपालिकाको कृषि रोजगारी

नेपाल फ्ल्यास
मंसिर ०८, २०७७

ADVERTISEMENT

उदयपुर । कोभिड–१९ का कारण वैदेशिक रोजगारी गुमाएर फर्केका उदयपुर, त्रियुगा नगरपालिका क्षेत्रका ३१ युवालाई कृषिमा रोजगारी दिलाउन तरकारी खेतीसम्बन्धी आर्थिक र विभिन्न प्राविधिक उपकरणसहितको सहयोग गरिएको छ ।

नगरका विभिन्न वडाका बेरोजगार युवालाई मौसमी तरकारीखेतीमा स्वरोजगार र उद्यमी बनाउन नगरपालिकाले झण्डै रु ३० लाख बराबरको आर्थिक सहयोगसहित विभिन्न सामग्री सहयोग गरेको बताइएको छ ।

नगरपालिकाका प्रमुख बलदेव चौधरीले नगरका विभिन्न वडाका युवालाई मौसमी तरकारीखेतीमा लागेर स्वरोजगार बन्न सहयोग सामग्री हस्तान्तरण गरेको नगरपालिकाका कृषि सहायक सोमबहादुर दनुवारले बताए ।

च्याउखेतीका लागि झण्डै रु दश लाख, अन्य तरकारी खेतीका लागि रु नौ लाख, तरकारी प्रशोधन गर्ने तीन समूहका लागि सोलार ड्रायर मेसिन, कृषि उपज चिस्यानका लागि कोल्ड च्याम्बर मेसिनसहित रु दश लाख बराबरको सामग्री हस्तान्तरण गरिएको हो ।

यस्तै, मौसमी तरकारी खेतीका लागि प्लाष्टिक टनेल सेट, विषादी छर्ने स्प्रे मेसिनसमेत हस्तान्तरण गरिएको छ । हाल नगरपालिकामा वैदेशिक रोजगारी गुमाएर फर्केका युवाको सङ्ख्या झण्डै २२० छ । उनीहरुकै क्षमता र चाहनानुसार स्वरोजगारमा लाग्न नगरपालिकाले आर्थिक र प्राविधिक सहयोग गरेको नगरपालिका प्रमुख चौधरीले बताए ।

विद्युतीकरण, गाडी मेकानिक्स तालिमदेखि होटल व्यवसाय, कुखुरा–बङ्गुर र माछापालन, तालिम पनि दिइने जनाइएको छ ।

युवाले उत्पादन गरेको तरकारी बिक्रीको सुनिश्चिताका लागि बजारको जिम्मा आवश्यक परे नगरपालिकाले लिने पनि चौधरीले बताए ।


कस्तो लाग्यो ?

यो पनि