जेठ ०६, २०८१, आइतबार
               

काठमाडौं उपत्यकाका दुई जिल्लाको सुरक्षामा महिला कमाण्ड

ADVERTISEMENT

नेपाल प्रहरीको उत्कृष्ट प्रहरी भित्र पर्न कार्यसम्पादन मूल्याङ्कन पहिलो प्राथमिकतामा पर्छ । कार्य कुशलता, ईमानदारी र कर्तव्यनिष्ठ उत्कृष्ट प्रहरी मापनका लागि अपरिहार्य चिज हो । यस्तै कुशल कार्य गर्ने प्रहरी अधिकारीहरू सुरक्षा चुनौती बढी रहेको क्षेत्रमा कमान्ड दिएर खटाइन्छन् । धेरैको रोजाइमा पर्ने तर चुनौतीका पहाड नाघ्नुपर्ने क्षेत्रमा प्रहरी नेतृत्व लिने अवसर उनीहरूले पाउँछन् ।

यस्तै काठमाडौं उपत्यकाका दुई जिल्लाको सुरक्षा कमान्ड महिला प्रहरीले सम्हालेका छन् । मुलुकको सङ्घीय राजधानी तथा प्रमुख प्रशासनिक केन्द्र काठमाडौँसँग जोडिएको, सङ्घीय राजधानी सहरको सुरक्षासँगै सिधैं जोडिएका ललितपुर र भक्तपुरको प्रहरी प्रमुखमा महिला नेतृत्वमा पुगेका हुन् । 

ललितपुरको प्रहरी प्रमुखमा एसएसपी किरण बज्राचार्यले आईतबारदेखि कमान्ड सम्हालेकी छन् । यता भक्तपुरको प्रहरी प्रमुखमा एसपी तारादेवी थापा कार्यरत रहदै आएकी छन् । उनले गत असार ८ गतेदेखि भक्तपुर प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्दै आएकी हुन् ।

राजधानीको सुरक्षा अवस्था संवेदनशील मानिन्छ । चुनौती बढी हुने भएकाले यी जिल्ला प्रहरी अधिकारीहरूको रोजाइमा पर्ने गरेका छन् । तर एकै पटक राजधानीका दुवै जिल्लाको सुरक्षा जिम्मा महिला अधिकारीहरूले पाएको भने यो पहिलो पटक हो ।

२१ महिनादेखि महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा रहेकी बज्राचार्यले भने आइतबारबाट ललितपुरको कमान्ड सम्हाल्ने गरी जिम्मेवारी पाएकी हुन् । अनुसन्धान र फिल्ड कमान्ड दुवैमा काबिल प्रहरीका रुपमा परिचित उनको ललितपुरको बसाई कस्तो हुनेछ समयले देखाउनेछ ।

 

एसएसपी किरण बज्राचार्य

एसएसपी बज्राचार्यले यसअघि भक्तपुरको प्रहरी प्रमुख भएर १५ महिना काम गरेकी थिइन् । २०७२ र २०७३ मा उनले भक्तपुर प्रहरीको कमान्ड गरेकी थिइन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा समेत उनी थिइन् । इन्टरपोलको नेपाल प्रमुख भएर समेत काम गरेको उनको अनुभव छ । प्रदेश प्रहरी, ठिमी वृत्त, ट्राफिक प्रहरी र तालिम केन्द्रलगायतमा बज्राचार्यले काम गरेकी छन् । 

ललितपुरको जिम्मेवारीमा सङ्गठनले विश्वास गरेर पठाएकोले कर्तव्य पुरा गर्ने बज्राचार्य बताउँछिन् । उनी भन्छिन् ‘म सङ्गठनको विश्वास कायम राख्दै काम गर्नेछु, ललितपुर विभिन्न जात, समुदाय र वर्गका मानिसको बसोबास भएको जिल्ला हो । सबैको आवाज सुनुवाइ गर्न सक्ने वातावरण बनाउनेछु भन्ने लागेको छ ।’

बज्राचार्य केन्द्रीय अनुसन्धान ब्युरोमा हुँदा सङ्गठित रुपमा मानव बेचबिखन गर्ने ‘सङ्गठित मानव तस्कर समूह’ लाई पक्राउ गर्न सफल भएकी थिइन् । उक्त सफलतापछि अमेरिकी विदेश मन्त्रालयले मानव बेचबिखन विरुद्धको अभियानमा ठुलो सफलता प्राप्त गरेको भन्दै ‘टीआईपी रिपोर्ट हिरो’ को रुपमा सन् २०१६ मा सम्मानित गरेको थियो ।

महिलाले पनि कुशल नेतृत्व गर्न सक्छन् भन्ने सन्देश दिन चाहन्छौँ 

जिल्ला प्रहरी प्रमुखका रूपमा एसपी थापाले पहिलो पटक जिम्मेवारी सम्हालेकी हुन् । थापाका लागि कोरोना संक्रमण महामारीका वेला जिल्लाको कमाण्ड सम्हाल्नु अझ अर्काे चुनौती हो ।

पहिलो पटक जिल्ला इञ्चार्जको दायित्व सम्हाल्दा महामारीको असहज परिस्थिति पर्नु आफ्ना लागि क्षमता साबित गर्ने थप अवसर भएको उनको बुझाइ छ । उनले यसअघि प्रहरी नायब उपरीक्षक (डीएसपी) हुँदा ललितपुरको सातदोबाटो प्रहरी वृत्तको प्रमुखमा एक वर्ष नेतृत्व गरेकी थिइन् ।

थापाको नेतृत्वमा भक्तपुरको सुरक्षा व्यवस्थामा कुनै कमजोरी नरहेको प्रहरी अधिकारीहरू बताउँछन् । थापाले त्यसअघि तालिम केन्द्र, सातदोबाटो वृत्त, महिला बालबालिका सेवा निर्देशनालय लगायतमा रहेर काम गरेकी थिइन् । 

एसपी तारादेवी थापा

भक्तपुर परिसर प्रमुख थापा भन्छिन् ‘अवसर पाए महिलाले पनि कुशल नेतृत्व दिन सक्छन् भन्ने सन्देश दिन हामी चाहन्छौँ, महिला कमजोर छैनन् भन्न र उनीहरूको सशक्तिकारण गर्न आवश्यक छ।’

थापाको मातहतमा भक्तपुरमा साढे ८ सय हाराहारीमा प्रहरी जनशक्ति छन् । भक्तपुरमा यसअघि दुई जना महिला नेतृत्व भएकाले पनि आफूलाई सहज भएको एसपी थापाको अनुभव  छ । ‘यहाँ म भन्दा अगाडि महिलाहरूले सफल नेतृत्व गरिसक्नुभएको छ, यसैले महलाई पनि सहज भएको छ , यसअघिका महलिा नेतृत्वले प्रमाणित गरेको विश्वास कायम राख्दै आफ्नो नेतृत्व सफल बनाउन लागिपर्छु ।’

महिला र पुरुषभन्दा पनि काममा दक्ष प्रहरीलाई सुरक्षा संवेदनशील क्षेत्र ललितपुर र भक्तपुरको कमान्ड दिएर पठाएको प्रहरीका उच्च अधिकारीहरू बताउँछन् ।

एक अधिकारीले भने ‘महिलालाई अघि बढाउनुपर्छ भनेर जिम्मेवारी दिइएको होइन, उहाँहरूले दक्षता र आफ्नो काममा कुशल भूमिका निर्वाह गरेका कारण जिम्मेवारी दिइएको हो ।’

महिला नेतृत्वलाई चुनौतीको चाङ

प्रहरीले गर्ने शान्ति सुरक्षा र अपराध नियन्त्रण नै हो । यसमै बज्राचार्य र थापालाई असाध्यै ठुलो चुनौती छ । सबैलाई थाहा छ, काठमाडौँ उपत्यकामा धेरै जनसंख्या र धेरै प्रकृतिका मानिस बस्ने हुनाले आपराधिक घटना बढी हुने गर्छ । 

गुण्डागर्दी, सङ्गठित अपराध, आर्थिक लेनदेन, महिला हिंसा आदि अपराधहरूको ग्राफ कहिले घट्ने त कहिले बढ्दै गएको देखिन्छ । यो ग्राफ घटाउन सक्नु उनीहरूको लागि प्रमुख चुनौती हुनेछ । 

यस बाहेक भक्तपुर र ललितपुरमा विकराल रूपमा रहेको लागु औषध कारोबार र बेचबिखनमा संलग्नलाई नियन्त्रण गर्नु अर्को चुनौती हो ।

यसमा आम नागरिकको सहयोग र सूचना चाहिने गर्छ । यसमा महिना प्रहरी कमान्डको सफलतामा आम नागरिकको साथ र सहयोग कस्तो हुन्छ त्यसमा समेत भर पर्ने सुरक्षा विज्ञहरू बताउँछन् । 

‘प्रहरीमाथि राजनीतिक हस्तक्षेप बढ्दै गएको छ’ यो ओपन सेक्रेट नै छ । यस्तोमा राजनीतिक नेतृत्वसँगको समन्वय र सहकार्यलाई रणनीतिक रूपमा कसरी अगाडि बढाउन सक्छन् अथवा सक्दैनन् । त्यो महिला नेतृत्वको कार्यकुशलतामा निर्भर रहन्छ ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि