असोज ०६, २०८१, आइतबार
               

बागमती सफाइ महाभियान : ४०० हप्तापछि पनि सफा हुन सकेन बागमती

नेपाल फ्ल्यास
मंसिर ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । बागमती सफाइ महाभियान सुरु भएको ४०० हप्ता हुन लागे पनि नदीमा फोहोर गर्ने क्रम भने रोकिएको छैन । पशुपति क्षेत्रको गौरीघाट, शङ्खमूललगायत सांस्कृतिकस्थलमा फोहोर जम्मा भए पनि सरोकार भएका निकाय मौन बसेको सफाइ अभियानकर्मीको गुनासो छ ।

अभियानकर्मीले सफा गरिरहने र फोहोर फाल्नेले फालिरहने हो भने बागमती सधैँ प्रदूषित नै हुने अभियानकर्मीको चिन्ता छ । अभियानकर्मी चक्रबहादुर चन्द शङ्खमूल क्षेत्रमा फोहोर बढ्न थालेको बताउँछन् । सफाइमा स्थानीय सरकारले आवश्यकतानुसार ध्यान नदिएको अभियानकर्मीको गुनासो छ ।

पशुपति क्षेत्रको आर्यघाटबाट बगाइएको बाँसका लाँक्रा तीनकुने आलोकनगरसम्म पुग्न थालेको छ। आलोकनगर सफाइ अभियानकर्मी प्रमिला पौडेल कोरोनाका कारण सफाइ अभियानमा पहिलेभन्दा कम सहभागिता जुट्न थालेपछि फोहोर बढ्न थालेको स्वीकार्छन् । फलस्वरुप नदीमा कालो पानी बग्न थालेको छ ।

बागमती सफाइ महाभियानको ३९३औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ । पशुपति क्षेत्रको सफाइ अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सम्पन्न भएको छ । पशुपति भष्मेश्वर घाट क्षेत्रमा सफाइ गरिएको उनले बताए ।

यसैगरी, शङ्खमूल क्षेत्रमा बागमती मनोहरा दोभान र बुद्धनगर सत्य साइबाबा उद्यान क्षेत्रमा सफाइ गरिएको छ । यस क्षेत्रको नदी किनारका दायाँबायाँमा रहेका घर, पसल, ग्यारेज व्यवसायीलगायतलाई जनचेतनामूलक अभियानसहित फोहर टिपेर कुहिने र नकुहिनेमा वर्गीकरणका साथ व्यवस्थापन गरिएको अभियानकर्मी डा. लक्ष्मी पौडेलले जानकारी दिइन् ।

गुह्येश्वरीमाथिको बागमती सफाइ अभियानको ३५३औँ हप्तामा जोरपाटी क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ । कोरोना महामारी भए पनि सफाइ अभियानमा सहभागिता बढ्न थालेको बागमती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए ।

विष्णुमती सफाइ अभियानको ३२२औँ हप्तामा काठमाडौं महानगरपालिका-१७ स्थित शोभाभगवती खुसीबुँमा जम्मा भई छलफलसहित अर्को हप्ता शनिवारदेखि नदीमा स्काभेटर चलाएरै सफाइ गर्ने निर्णय भएको छ । महानगरका वडा नम्बर १५, १६ र १७ मा जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गरिने निर्णय बैठकले गरेको अभियानकर्मी शोभाकान्त पाण्डेले जानकारी दिए ।

मनोहरा सफाइ महाअभियानको १९२औँ हप्तामा काठमाडौं महानगरपालिका-३२ जडीबुटीस्थित कृषिबजारअघिको नदी किनारमा सफाइ गरिएको छ । सफाइबाट एक गाडी फोहोर व्यवस्थापन गरिएको अभियानकर्मी चन्द्र दङ्गालले जानकारी दिए । सफाइमा करिब ५० अभियानकर्मीको सक्रियता थियो ।

ललितपुरको गोदावरी खोला सफाइ अभियानको ९०औँ हप्तामा खोलाका विभिन्न स्थानमा भौतिक दूरी कायम गर्दै सफाइ गरिएको छ । सबै क्षेत्रको सफाइ अभियान भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर सम्पन्न गरिएको जनाइएको छ ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदीसहित देशका प्रमुख नदी एवं शहर गरी हालसम्म १०६ स्थानमा सफाइ अभियान सुरु भइसकेको छ । कोरोनाबाट बच्न गत वर्ष चैतमा लकडाउन जारी गरिएपछि भने सफाइ अभियानमा सुस्तता छाएको छ ।


कस्तो लाग्यो ?

यो पनि