असोज ०६, २०८१, आइतबार
               

आजदेखि श्रीसदन सर्वसाधारणका लागि खुला

नेपाल फ्ल्यास
मंसिर ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । तत्कालीन राजा  वीरेन्द्र शाहको निजी आवासगृह श्रीसदन आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । नारायणहिटी दरबार सङ्ग्रहालयमा अवस्थित श्रीसदन अवलोकनका लागि खुला गरिएको हो । दरबार हत्याकाण्ड हुनुअघिसम्म श्रीसदनमा वीरेन्द्र, ऐश्वर्य र निराजन बस्दै आएका थिए । राजा वीरेन्द्रको परिवारको वंशनाशपछि उक्त सदन बन्द  थियो । विसं २०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्ड आधुनिक नेपाली इतिहासको सबैभन्दा चर्चित र विस्मयकारी घटना थियो ।

नारायणहिटी दरबार सङ्ग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सर्वसाधारणले अवलोकन गर्ने गरी श्रीसदनका प्रदर्शनी कक्ष खुलाएको हो । श्रीसदन प्रदर्शनीकक्षको आज उद्घाटन गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले नारायणहिटी सङ्ग्रहालयलाई राजतन्त्र र विशेषगरी आधुनिक नेपालको इतिहास बुझ्ने एउटा प्रमुख गन्तव्य थलोका रूपमा स्थापित गरिने बताए- “इतिहास कसैको दुश्मन हुँदैन, त्यो एउटा घटना हो । यथार्थ हो, त्यसलाई आजीवन संरक्षण गर्न सकियो भने आउने पुस्तालाई पनि ज्ञान हुनेछ ।”

आधुनिक नेपालको एकीकरणमा राजतन्त्रको प्रगतिशील भूमिका अविस्मरणीय रहेको जनाउँदै मन्त्री भट्टराईले पृथ्वीनारायणदेखि ज्ञानेन्द्र शाहसम्मको इतिहास नारायणहिटी क्षेत्रभित्र रहने उल्लेख गरे- “आधुनिक नेपाल निर्माणमा नेपालको शाहवंशीय राजतन्त्रले प्रगतिशील भूमिका खेल्यो । ब्रिटिश साम्राज्यवाद र उपनिवेशलाई रोक्न तथा  नेपालका ससाना राज्यलाई एकीकरण गर्ने महान् कामको अगुवाइ गर्ने पृथ्वीनारायण शाहको भूमिकालाई निकै प्रगतिशील मानिन्छ र आज पनि उहाँको योगदानको सबैले स्मरण गर्ने गरेका छन् । आज श्रीसदन खोलिरहँदा पनि पृथ्वीनारायाण शाहको योगदानको उच्च कदर र सम्मान गर्न चाहन्छु, जुन देशका लागि गौरवपूर्ण ऐतिहासिक कार्य थियो ।”

श्रीसदन विभिन्न इतिहास र समाजको झलक तथा मानवजातिको विकासको जानकारी दिन सान्दर्भिक हुनेछ । दरबारसँग जोडिएका विभिन्न वस्तु, घटनाक्रम, देशका विभिन्न स्थानमा रहेका वस्तुलाई ल्याएर संरक्षण गरिनुपर्नेमा पर्यटनमन्त्रीको जोड थियो । उनले नेपालको २४० वर्षे शाहवंशीय राजतन्त्रको साक्षात इतिहासका रूपमा रहने सङ्ग्रहालयमा शाहवंशीय शासनको कसरी शुरु र अन्त्य भयो, त्यसको जीवन्त इतिहास नारायणहिटी सङ्ग्रहालयबाट प्राप्त हुने विश्वास व्यक्त गरे ।

पर्यटनमन्त्री भट्टराईले तत्कालीन राजा वीरेन्द्रको जीवनशैली र उनको परिवारलाई बुझ्न सहयोग पुग्नाका साथै नेपाली मात्र नभई विदेशी विश्वविद्यालयबाट अध्ययनअनुसन्धान गर्नेका लागि महत्वपूर्ण सामग्री प्रदान भएको बताए । उनले कीर्तिपुरको चम्पादेवीमा राष्ट्रिय सांस्कृतिक सङ्ग्रहालय निर्माणको काम अघि बढाइएको र त्यहाँ नेपालका १२५ जातिका अलगअलग पहिचान र विविधता झल्कने सामग्री राखिने जानकारी दिए ।

त्यसैगरी नेपालको निर्माणमा राजनीतिक क्षेत्र, साहित्य र कलाकारिताका क्षेत्रबाट योगदान गरेका विशिष्ट व्यक्तिका सम्मानमा काठमाडौँको जहरसिंहपौवामा सङ्ग्रहालय बनाइने जानकारी दिँदै उनले काठमाडौँ उपत्यकालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न तथा बिदाको दिन कर्मचारी र  विद्यार्थीलाई घुमफिर गर्न यस्ता सङ्ग्रहालयले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

के–के छ श्रीसदनमा 
श्रीसदनको भुइँतलामा पाहुना बस्ने बैठककक्षसँगै डाइडिङ रुम र वारकक्ष छ । दोस्रो तलामा वीरेन्द्र, ऐश्वर्य, निराजन र श्रुतिको शयनकक्ष छ भने तेस्रो तलाको पश्चिमतर्फ निराजनले शारीरिक अभ्यास गर्ने कोठा छ । ऐश्वर्यको पूजाकोठामा देवताको मूर्ति सजाइएको छ, तेस्रो तलाको भ¥याङ उक्लिनासाथ प्यासेजमा पूर्वअधिराजकुमारी श्रुतिले तयार पारेको चित्रकला राखिएको छ । स्व राजा वीरेन्द्र, ऐश्वर्य, श्रुति र निराजनको स्नानागार र  सिँगार कोठामा सबैले छुट्टाछुट्टै प्रयोग गर्ने सबै सामग्री सजाएर राखिएको छ । स्व ऐश्वर्यको छुट्टै साहित्यकक्ष पनि छ । श्रुति र निराजनको छुट्टै खेल्ने सामग्रीसहितको कोठा  छन् । 


कस्तो लाग्यो ?

यो पनि