असोज ०६, २०८१, आइतबार
               

रत्नपार्कमा शङ्खधर साख्वाँ र पद्मरत्न तुलाधरको सालिक अनावरण

नेपाल फ्ल्यास
मंसिर ०६, २०७७

ADVERTISEMENT

काठमाडौं । रत्नपार्कमा शङ्खधर साख्वा र पद्मरत्न तुलाधरको सालिक अनावरण भएको छ। शनिबार काठमाडौं महानगरपालिकाले एक कार्यक्रम आयोजना गरी उक्त दुई व्यक्तित्वको सालिक महानगरका प्रमुख विद्यासुन्दर शाक्य र शहरी विकासमन्त्री कृष्ण गोपाल श्रेष्ठले संयुक्त रूपमा अनावरण गरेका हुन् ।

२० लाख रुपैयाँ लगानीमा निर्माण भएको सालिक महेश श्रेष्ठले बनाएका हुन् । राष्ट्रिय व्यक्तित्वहरूको सालिक निर्माण गरेकोमा मन्त्री श्रेष्ठले नगरप्रमुख शाक्यको प्रशंसा गरेका थिए ।

साख्वा नेपाल संवतका प्रवर्द्धक र राष्ट्रिय विभूति समेत हुन् । ०५६ साल मंसिर ३ गते उनलाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो ।

मन्त्री श्रेष्ठले भने, ‘घरमा ल्याएको बालुवा सुन भएपछि त्यही बेचेर जनतालाई ऋणमुक्त गराएको भन्दै शङ्खधर दानी व्यक्ति रहेको किंवदन्ती प्रचलित छ । वामपन्थी राजनीतिज्ञ तुलाधरले वि.सं. २०४६ सालको संयुक्त जनआन्दोलन सफल पार्न विभिन्न टुक्रामा विभाजित वामपन्थी पार्टीहरूलाई एकै ठाउँमा ल्याउन प्रमुख सूत्रधारको भूमिका निर्वाह गरेका थिए । यस्ता व्यक्तित्वहरुको सम्मानमा महानगरपालिकाले सालिक निर्माण गरेर उदाहरणीय काम गरेको छ ।’

दुवैजना इतिहास पुरुष भएको पनि स्मरण गर्दै उनले रत्नपार्कलाई ‘शङ्खधर उद्यान’ घोषणा गरी त्यसकै रूपमा स्थापित गराउनु ठूलो कुरा भएको उल्लेख गरे । नेपाल सम्बतलाई राष्ट्रिय सम्बतका रूपमा स्थापित गराउने कुरामा कसैको विमति नरहने थप प्रस्ट पारे ।

कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख शाक्यले राज्यलाई योगदान गरेका व्यक्ति, शहीद र राष्ट्रिय विभूतिलाई सबैले दीर्घकालसम्म चिनुन्‌ र सम्झिरहुन्‌ भनेर महानगरपालिकाले सालिक निर्माण गरेको जानकारी दिए । ‘उहाँहरूको योगदानलाई कतिपय अवस्थामा हामीले चाहेर पनि बिर्सन सक्दैनौं । उपत्यकाबासीका लागि शङ्खधर र पद्मरत्न मन मुटुमा छन्,' शाक्यले भने, ‘हामीले उहाँहरूको सम्मानमा सालिक निर्माण गर्न पाउँदा खुशी छौँ । हामीले पार्कभित्र सालिक राखेर सधैँ सबैले चिन्न र देख्न सकुन्‌ भन्ने ठानेका छौं ।'

वागमती प्रदेशका भाैतिक पूर्वाधार मन्त्री रामेश्वर फुँयालले काठमाडौंका नेवार मात्रै होइन, सबै मिलेर देश निर्माणमा लाग्नुपर्छ भन्ने नेता तुलाधरप्रति सम्मान गर्न पाएको बताए ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धर पनि कार्यक्रममा सहभागी थिए । कार्यक्रममा महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले यस्ता व्यक्तिको सम्मान गरी सालिक निर्माण गर्ने अवसर महानगरले प्राप्त गरेकाेमा खुशी व्यक्त गरिन् ।

कार्यक्रममा पद्मरत्नकी छोरी सुम्निमा तुलाधरले पिताजीको सम्मानमा सालिक स्थापना हुँदा परिवारले गर्व  गरेको बताइन् ।


कस्तो लाग्यो ?

यो पनि