असोज ०६, २०८१, आइतबार
               

दरबार हत्याकाण्डयता बन्द ‘श्री सदन’ खुला गरिँदै, के-के छन् श्री सदनमा ?

नेपाल फ्ल्यास
मंसिर ०६, २०७७

ADVERTISEMENT

तत्कालीन राजा वीरेन्द्रको परिवार बस्ने निजी निवास नागरिकले हेर्न पाउने गरी खुला गरिने भएको छ ।

नारायणहिटी दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालका अनुसार राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, छोरी श्रुति र छोरा नीराजन बस्ने गरेको घर ‘श्री सदन’ आज (शनिबार) दिउँसो संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले खुला भएको औपचारिक शुभारम्भ गर्ने भएका हुन् ।

तर सर्वसाधारण नागरिकले भोलि (आइतबार) देखि श्रीसदन अवलोकन गर्न पाउने उनले जानकारी दिएका छन् । 

२०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंशै नाश हुने गरी दरबार हत्याकाण्ड भएदेखि श्री सदन बन्द छ ।

तत्कालीन राजा वीरेन्द्रकै डिजाइनमा २०२३ सालमा श्री सदन भवन निर्माण गरिएको थियो । युवराजाधिराज उमेर पुगेपछि अलग बस्नुपर्ने नियमअनुसार राजा वीरेन्द्र महेन्द्र मञ्जिलबाट श्रीसदन सरेका थिए ।

तत्कालीन राजा महेन्द्र उमेर पुगेपछि त्रिभुवन सदनबाट महेन्द्र मञ्जिल र तत्कालीन राजा दीपेन्द्र उमेर पुगेपछि श्रीसदनबाट त्रिभुवन सदन सरेका थिए ।

आइतबारदेखि ‘श्री सदन’ का साथै गणतन्त्र स्मारकसमेत सर्वसाधरणले अवलोकन गर्न पाउने गरी खुला हुने बताइएको छ ।

श्री सदनमा के-के छन् ?

तीनतले श्री सदनमा १२ कोठा छन् । तत्कालीन राजा वीरेन्द्रले प्राकृतिक रूप जाेगाउन भन्दै भवनबाहिर रङरोगन गर्न दिएनन् । भुुइँतलामा राजा वीरेन्द्र र रानी ऐश्वर्यका निजी कार्यालय, भान्सा कोठा, खाना खाने कोठा (डाइनिङ हल) र विश्राम गर्ने कोठा छन् ।

युवराजाधिराज दीपेन्द्र शाह उमेर नपुगुन्जेल श्री सदनको भुइँतलामा बस्थे । उनी त्रिभुवन सदनमा सरेपछि उनकाे कोठा खाली थियो । भुइँतलामा मदिरा पिउने बारको समेत व्यवस्था थियो । दरबार हत्याकाण्डपछि त्यहाँ रहेका महँंगा रक्सी कसले लग्यो भन्ने अत्तोपत्तो नभएको दरबारका पुराना कर्मचारी सुनाउँछन् ।

श्रीसदनको पहिलो तलामा राजा वीरेन्द्रको शयन कक्ष, रानी ऐश्वर्यको कक्ष र लुगा राख्ने कक्ष हेर्न पाइन्छ । रानी ऐश्वर्यको कक्षमा क्यासेट प्लेयर, गीतका चक्का, टेलिभिजन आदि राखिएका छन्। दोस्रो तलामा तत्कालीन अधिराजकुमार नीराजन र अधिराजकुमारी श्रुतिका शयन कक्ष छन् ।

संग्रहालय विकास समितिका कार्यकारी निर्देशक दाहालका अनुसार सन् १९३९ मा राजा त्रिभुवनलाई हिटलरले उपहार दिएको गाडी पनि सर्वसाधारणले अवलाेकन गर्न पाउनेछन् । साथै राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले प्रयोग गरेका गाडी, दीपेन्द्र, श्रुति र नीराजन शाहले सानोमा प्रयोग गरेका खेलौना गाडी, वीरेन्द्रले प्रयोग गरेका हवाईजहाज र हेलिकप्टरसमेत प्रदर्शनीमा राखिने छन् ।

विमानहरू बदामे चौरमा राखिएका छन् । श्री सदनबाट गणतन्त्र स्मारकसम्म जाँदा बीचमा पर्ने टुकुचा खोलामा पुल नभएकाले नारायणहिटी दरबार परिसरबाट बाहिरिएपछि पूर्वतर्फकाे प्रवेशद्वारबाट गणतन्त्र स्मारक जान सक्ने व्यवस्था गरिएको छ ।

यो पनि