असोज ०६, २०८१, आइतबार
               

रामपुरमा सार्वजनिक पुस्तकालय सञ्चालनमा

नेपाल फ्ल्यास
मंसिर ०६, २०७७

ADVERTISEMENT

पाल्पाको रामपुरमा सार्वजनिक पुस्तकालय सञ्चालनमा आएको छ । बढ्दो शहरीकरणसँगै पूर्वाधार विकासको क्रममा रहेको रामपुरमा कालीगण्डकी फाउण्डेशन नेपालले विद्या मन्दिर सार्वजनिक पुस्तकालय सञ्चालनमा ल्याएको हो ।

फाउण्डेशनले नगर क्षेत्रको आवश्यकता परिपूर्तिका लागि रामपुर ५ बेझाँड नहअफिसमा छठ पर्वको अवसर पारेर (शुक्रबार) पुस्तकालय शुभारम्भ गरेको हो । प्रध्यापक, शिक्षक, विद्यार्थीसँगै उद्योगी, व्यवसायी तथा स्थानीयहरुको ज्ञान अभिवृद्धिका लागि पुस्तकालय शुभारम्भ गरिएको हो । 

पुस्तकालयको शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका सांसद एवं नेपाली कांग्रेस पाल्पाका सभापति विर बहादुर रानाले पछिल्लो समय हरेक क्षेत्रमा नैतिक शिक्षाको खडेरी परेको बताए । 

'व्यवहारिक र नैतिक शिक्षाको अभावले शासन व्यवस्था परिवर्तन भए पनि अभाव र समस्या कायम छ । समाजलाई सचेत गराउन उचित ज्ञानको अभाव रहेको र यसको परिपूर्ति पुस्तकालयले गर्ने छ', सभापति रानाले भने, 'अध्ययनलाई व्यवहारमा लागू गर्न नसक्दा विश्वमा समस्या समेत देखिएको छ ।'

रानाले आफ्नो तर्फबाट आवश्यक सहयोगका लागि पहल गर्ने बताउँदै पुस्तकालयको दिगोपनको लागि सबै पक्ष लाग्नु पर्नेमा जोड दिए ।

रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले पछिल्लो समय प्रविधिको विकाससँगै पुस्तक पढ्ने बानी हराउनु दुःखद् रहेको बताए । उनले आवश्यक ज्ञान आर्जन गर्ने सहज आधार पुस्तकालय रहेको बताए । 

रामपुर नगरपालिकाकी उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले पुस्तकालय सञ्चालनले विकृति हटाउन समेत टेवा पुग्ने बताइन् । मोबाईल तथा इन्टरनेटमा झुम्मिने पछिल्लो पुस्तालाई यसतर्फ आकर्षित गर्न सकेमा ठूलो राहत मिल्ने उनको तर्क छ । 

कालीगण्डकी फाउण्डेशनका सल्लाहाकार सन्दीप रानाले पुस्तकालय अहिले सुरुवात मात्र गरिएको बताउँदै यसको विस्तार र दिगोपनाको लागि सबैको सहयोग अपरिहार्य रहेको बताए । 

रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषिराम आचार्यले पछिल्लो पुस्तामा नैतिक शिक्षाको अभाव रहेको भन्दै आवश्यक नैतिक शिक्षा र व्यवहारिक ज्ञान प्रदानमा पुस्तकालयको महत्वपूर्ण भूमिका रहने बताए । 

कार्यक्रममा नेपाली कांग्रेस रामपुर नगर कार्य समितिका सभापति नेत्र प्रसाद भट्टराई, नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष कमलराज भट्टराई, रामपुर नगरपालिका ५ का वडा अध्यक्ष हिमाल मल्ल, किताब यात्राका प्रमुख ऋषि आचार्य र रामतुलसी माध्यमिक विद्यालयका प्रधानाध्यापक बालकृष्ण लम्सालले ज्ञानको लागि पुस्तक अपरिहार्य रहे पनि पठनसीपको अभाव रहेको उल्लेख गरे । 

कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीले अहिले पहिलो चरणमा धार्मिक, सांस्कृतिक, साहित्य, इतिहास तथा पाठ्यक्रमका पुस्तकहरु गरी चार हजार पाँच सयभन्दा बढी पुस्तक राखिएको जानकारी दिए । 

उनले कार्यविधी अनुसार पुस्तकालय सञ्चालन गरिने भन्दै स्थानिय, प्रदेश र संघीय सरकारको सहकार्यमा इ-लाइब्रेरीको अवधारणा अनुसार अघि बढ्ने बताए । 


कस्तो लाग्यो ?

यो पनि