असोज ०६, २०८१, आइतबार
               

संस्कृति प्रवर्द्धन र विकासका लागि विशेष बजेट व्यवस्था गरेका छौँ : मेयर शाक्य

नेपाल फ्ल्यास
मंसिर ०४, २०७७

ADVERTISEMENT

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौंको ऐतिहासिक सांस्कृतिक क्षेत्र हाँडीगाउँको प्रवर्द्धन र विकासका लागि विशेष बजेट व्यवस्था गरेको बताएका छन् । काठमाडौं–५ मालीगाउँमा रहेको ऐतिहासिक ध्येः छेंः को पुनर्निर्माणका लागि स्थलगत निरीक्षणमा पुगेका मेयर शाक्यले सो क्षेत्रको ऐतिहासिक तथा अनुसन्धानका लागि १ करोड रुपैयाँ व्यवस्था गरेको बताए ।

महानगरपालिकाको तर्फबाट चाँडै सो क्षेत्रका पुरातात्त्विक सम्पदाहरूको अध्ययन अनुसन्धान गरिने उनले बताए । काठमाडौं उपत्यकामा साँखुपछि दोस्रो पुरानो बस्तीका रुपमा रहेको हाँडीगाउँ क्षेत्रमा पुराना मठ, मन्दिर, जात्रा तथा पर्वहरू रहेको भन्दै तिनको संरक्षण तथा प्रवर्द्धन गर्नु आफ्नो दायित्व रहेको धारणा राखे ।

मालीगाउँमा रहेको देउता घर (ध्येः छेंः) निरीक्षणका क्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य

काठमाडौं क्षेत्र नं ५ (क) बाट निर्वाचित वाग्मती प्रदेश सभा सदस्य नारायण सिलवाल, संविधान सभा सदस्य रत्न गुरुङ, वडा नं ५ का अध्यक्ष रमेश डङ्गोलसहित सो क्षेत्रमा पुगेका मेयर शाक्यले मैतीदेवी मन्दिरको खट तथा देउता राख्ने घरको मङ्सिर महिनाभित्र परम्परागत स्वरूपमा निर्माणको शिलान्यास गरिने जानकारी दिए । 

काठमाडौंको मैतीदेवी मन्दिर गोरखाको प्रसिद्ध मनकामना माई देवीको दिदीको रुपमा लिइन्छ । विभिन्न जात्रा तथा पर्वको अवसरमा मैतीदेवी मन्दिरमा लगिने तथा विभिन्न स्थान घुमाइने खट तथा देउता राख्ने घर ‘ध्येः छेंः’ को मङ्सिर महिनाभित्र परम्परागत स्वरूपमा निर्माणको शिलान्यास गर्ने जनाइएको छ । अनुमानित कुल लागत २ करोड ६ लाख रुपैयाँमा निर्माण गरिन लागिएको सो ‘ध्येः छेंः’ ९ महिनाभित्र सम्पन्न गरिने लक्ष्य लिइएको छ ।

काठमाडौं ५ मालीगाउँमा रहेको जीर्ण देउता घर (ध्येः छेंः)

स्थानीय सारेकारवालाहरुको उपभोक्ता समिति गठन गरेर भवन बनाउने तयारी भएको प्रदेश सभा सदस्य सिलवालले जानकारी दिए । मालीगाँउमा परापूर्वकालमा देउता तथा खट राख्ने ‘ध्येः छेंः’ बनाइएको थियो ।

सो भवन जीर्ण भएपछि आधुनिक रुपमा पुनर्निर्माण गरिएको थियो । अब भने प्राचीन शैलीमै निर्माण गरिने प्रदेश सांसद सिलवालले जानकारी दिए । सो भवनमा नेवार समुदायले भाइटिका तथा म्ह पूजासमेत गर्दै आएका छन् ।

काठमाडौं ५ मालीगाउँमा रहेको देउता घर (ध्येः छेंः) को पुनर्निर्माणपछि बन्ने संरचनाको डिजाइन


कस्तो लाग्यो ?

यो पनि