जेठ ०५, २०८१, शनिबार
               

रेसुंगा नगरपालिका लकडाउन

नेपाल फ्ल्यास
मंसिर ०४, २०७७

ADVERTISEMENT

गुल्मी । गुल्मीको रेसुंगा नगरपालिकाभित्र संक्रमितको संख्या बढ्न थालेपछि लकडाउन गरिने भएको छ ।

नगरपालिका भित्रका विद्यालयका १ शिक्षक र ३ जना विद्यार्थीसँगै व्यापारी र बैंकका कर्मचारीमा समेत संक्रमण पुष्टि भएको थियो । मंसिर ५ गतेदेखि १३ गतेसम्म नगरपालिकाभित्र लकडाउन गर्ने निर्णय भएको नगरपालिकाका स्वास्थ्य संयोजक बोम अर्यालले जानकारी दिए ।

नगरपालिकाभित्र अहिले ४१ जना संक्रिय संकमित भएका र विद्यार्थी र शिक्षकको सम्पर्कमा आएकाको स्वाब संकलन गरी परीक्षणका लागि तम्घास प्रयोगशालामा पठाइएको छ ।

नगरपालिकाभित्र लकडाउन गर्ने भएपछि लामो तथा छोटो दूरीका सवारीसाधन नगरपालिकाभित्रको बसपार्क मात्र रोक्न पाइने भएको छ । नगरपालिकाका अन्य स्थानमा सवारीसाधन रोक्न र यात्रु राख्न र झार्न नपाइने नगरपालिकाले जनाएको छ ।

नगरपालिकाभित्र खाद्य पसलहरु र तरकारी तथा दूध डेरीहरु बिहान ७ बजेदेखि ९ बजेसम्म २ घण्टा खुल्ने भएका छन् । पसलहरुले भौतिक दूरी कायम राख्दै र स्वास्थ्य मापदण्डलाई पालना गरी  पसलहरु तोकिएको समयमा खुल्न सक्नेछन् ।

नगरपालिकाभित्र अर्थात् सदरमुकाम तम्घासमा संघ र प्रदेशमातहत कार्यालय पनि भएकाले ती कार्यालय बन्द गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीलाई आग्रह गरिएको नगरपालिकाले जनाएको छ ।  

नगरपालिकाले संघ र प्रदेशका कार्यालयमा पनि अत्यावश्यक सेवाबाहेक अन्य सेवा रोक्न प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्मालाई आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत भक्तिराम मरासिनीले जानकारी दिए ।

यता गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले   जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको बैठक बिहीबार दिउँसो बोलाएको जानकारी दिए। सदरमुकाम तम्घासमा संक्रमण फैलिँदै गएकाले बैठकबाटै केही निर्णय हुने उनले बताए ।

गुल्मी जिल्लामा हालसम्म ८ सय ९ जना संक्रमितमध्ये ७ सय २१ जना निको भएर घर फर्किएका छन् भने ७८ जनाको होम आइसोलसनमा राखेर उपचार भइरहेको छ । संक्रमणका कारण जिल्लामा १० जनाको ज्यान गइसकेको छ । 


कस्तो लाग्यो ?

यो पनि