बैशाख १७, २०८१, सोमबार
               

बिरामीलाई नर्सकाे भाइटीका

नेपाल फ्ल्यास
मंसिर ०१, २०७७

ADVERTISEMENT

बिरामी परेर अस्पताल भर्ना हुनुपर्दा चाडपर्व मनाउन सम्भव नै  भएन । सबैले पर्व मनाइरहँदा बिरामी भने विगतका पर्व सम्झेर अस्पतालको श्यया मै टोलाएर बस्नु बाहेक अर्काे विकल्प हुँदैन । 

चितवन मेडिकल कलेज भरतपुरमा आज फरक दृश्य देखियो । अस्पतालमा भर्ना भएका बिरामीलाई त्यहाँ कार्यरत नर्स एकाएक दिदी बहिनी बनेर भाइटीका लगाइ दिए । पर्व सम्झदै बसेका बिरामीमा एकाएक खुशीको सञ्चार भयो । बिरामीहरु आफ्नो पीडालाई बिर्सिएर रमाउन थाले । 

नर्सहरुले श्ययामा सुतिरहेका बिरामीहरुलाई भाइटीका लगाएको अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रताप देवकोटाले जानकारी दिए । अस्पतालमा उपचाररत् १५७ जना बिरामीलाई भाइटीका लगाइएको हो । 

अस्पतालकी नर्सिङ अधिकृत अंकिता कुँवरले पुरुष बिरामीहरुलाई उनीहरुकै श्ययामा पुगेर भाइटीका लगाएर दीर्घायुको कामना गरिएको जानकारी दिइन् । उनले भनिन् “हामीले पनि आफ्नो दाजुभाइलाई टीका लगाउन पाएनौं, उहाँहरुले लगाउन पाउनु भएको थिएन । जहाँ जस्तो अवस्थामा छौं, त्यहीँ रमाऔं भनेर टीका लगाइदियौं ।”  

नर्सिङ अधिकृत अर्चना सेढाईको भनाइ पनि उस्तै छ । पर्वको दिन बिरामीसँगै खुशी साट्न पाउँदा आफूहरु र बिरामी दुवै हर्षित भएको उनले बताइन् । वरिष्ठ स्टाफ नर्स समिना मिया, नर्स सुस्मा गुरुङ पनि अस्पतालमा बिरामीलाई दाजुभाइ सम्झेर टीका लगाउन पाउँदा सेवासँगै ममता पनि बढेको जानकारी दिइन् ।

भरतपुर महानगरपालिका  १० का ४३ वर्षीय मधुकर लामा पर्व सम्झेर बसिरहेको समयमा एक्कासी भाइटीका लगाउन पाउँदा आधा बिमार निको भएको जस्तो अनुभव भएको जानकारी दिए । उनी मात्रै होइन भरतपुर २८ का श्रीकृष्ण पोखरेल,  भीमसेन गाउँपालिका गोरखाका रिदम मरहट्टा, हेटौंडा कमानेका रमेश देउजा पनि अस्पतालमा भाइटीका लगाउन पाइन्छ भन्ने कल्पनासम्म नगरेको जानकारी दिएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत देवकोटा बिरामीलाई सेवासँग ममता पनि चाहिन्छ भन्ने भावनाले पर्वको अवसरमा टीका लगाउने व्यवस्था गरिएको बताउछन् । सो अवसरमा बिरामीलाई नर्सहरुले टीका लगाउनुको भाइमसला, फलफूल तथा मीठाइ  वितरण गरेका थिए । 


कस्तो लाग्यो ?

यो पनि