रामपुर नगरपालिका—८ पिपलचौरकी ७६ वर्षीया तुलसालाई यतिखेर गाँस र बाँसको समस्या छ । साहाराबिहिन उनी अहिले छिमेकीको घरमा साहारा लिएकी छन् । गाँस र बाँसबाट पिडित उनलाई नेपाली नागरिकता नहुँदा सामाजिक सुरक्षा भक्ता पाउनबाट वन्चित हुनु परेको छ । तीन सन्तानमध्ये दुई छोरा र एक छोरी रहे पनि अहिले उनी सहाराबिहीन छिन् ।
दुई छोरा लामो समयसम्म बेपत्ता भएपछि जेठो छोरा करिब २२ वर्ष पछाडि मात्रै घर फर्केका छन् । पाल्पाको पूर्वखोला गाउँपालिका—२ जल्पा माइती घर बताउने तुलसाले स्याङ्गजा आँधीखोलाका स्वर्गीय कुलप्रसाद पाण्डेयसँग वैवाहिक सम्बन्ध गाँसेकी थिइन् । बसाई सरी रामपुरलाई कर्मथलो बनाएकी तुलसालाई रामपुर नगरपालिका—८ को कार्यालयले नागरिकता दिलाउन माइतीतर्फबाट जन्मदर्ता समेत झिकाएको छ ।
आफैले जन्म दिएको छोराले पनि आमालाई नागरिकता बनाउन सहयोग नगरेका कारणले समस्या बल्झिन पुगेको हो । तुलसाले २०५६ सालमा भएको निर्वाचनमा दोस्रो श्रीमान् रमाकान्त पङ्गेनी पति कायम गरी निर्वाचनमा सहभागी भई मतदान गरेको उनका छिमेकी तथा समाजसेवी मुक्तिराम अर्यालले बताए ।
नेपाली नागरिकता बनाउने कुरामा वडा कार्यालय गम्भीर रहे पनि नजिकका आफन्तले सनाखत नगरेको र यस समस्यालाई समाधान गर्ने कोशिसमा रहेको वडा सदस्य मोहन श्रेष्ठ बताउछन् । नेपाल सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भक्ता पनि नपाउँदा के खाने, लाउने, कहाँ बस्ने अवस्था छ ।