काठमाडौं । राष्ट्रिय जल तथा मौसम पूर्वानुमान महाशाखाले आज तिहारको दिन (सोमबार) देशभर मौसमका प्रभावबारे विवरण सार्वजनिक गरेको छ । महाशाखाका अनुसार आज बिहानैबाट देशका अधिकांश पहाडी भू–भागमा बढी चिसोको कहर बढेको छ ।
त्यस्तै, दिउँसो पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ भने सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशका केहि स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ ।
साथै, देशको उच्च पहाडी तथा हिमाली भू–भागका केहि स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी राती पनि देशभर आंशिकदेखि सामान्य बदली रहि सुदूरपश्चिम र कर्णाली प्रदेशको १–२ स्थानहरुलगायत गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।