असोज ०६, २०८१, आइतबार
               

विद्युत कटौती हुन नदिन उर्जामन्त्री पुगे भार प्रेषण केन्द्र

नेपाल फ्ल्यास
कात्तिक २९, २०७७

ADVERTISEMENT

काठमाडौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमा पुन नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र (एलडीसी) पगेका छन्।

देशभरको विद्युत आपूर्तिको अवस्थाबारे प्रत्यक्ष निरीक्षणका लागि मन्त्री पुन नेपाल विद्युत प्राधिकरणका कायममुकायम कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यसहित एलडिसी पुगेका हुन्।

नेपालीहरुको दोस्रो ठूलो चाड तिहारअन्तर्गत लक्ष्मी पूजाका दिन वर्षभरिकै सबैभन्दा बढी विद्युत खपत हुन्छ। उपत्यकासहित देशका मुख्य सहरी क्षेत्रमा झिलीमिली बत्तीका कारण लक्ष्मी पूजाको समयमा विद्युत माग अत्याधिक हुन्छ। विद्युतको माग बढी हुने समयमा माग र आपूर्तिको सन्तुलन नखल्बलियोस भन्नका लागि आफैं एलडीसीमा उपस्थित भएको मन्त्री पुनले बताए।

‘तिहारको समयमा बत्ती नजाओस् र सबैले उज्यालोमा लक्ष्मी पूजा गर्ने अवस्था होस् भन्नका लागि माग र आपूर्तिको अवस्थाको प्रत्यक्ष जानकारी लिन र आवश्यक निर्देशनका लागि आएको हुँ’, मन्त्री पुनले भने। प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले व्यवस्थित योजनासहित माग र आपूर्तिको व्यवस्थापन गरिएकाले कतै बत्ती नजाने भन्दै ढुक्कले उज्यालोमा तिहार मनाउन आम देशबासीलाई अपिल गरे। सञ्चालक समितिको निर्णयअनुसार प्राधिकरणका देशैभरका उत्पादन, वितरण र प्रसारण केन्द्रका प्रमुखहरुलाई तिहारको अवधिमा कार्यालय नछाड्न परिपत्र गरिएको छ।

भार प्रेषण केन्द्रले देशभरको विद्युत आपूति, माग र वितरणको व्यवस्थापनको काम गर्छ। अत्याधुनिक प्रविधि जडित केन्द्रबाट प्राधिकरण र निजी क्षेत्रको कुन विद्युत गृहबाट कति विद्युत उत्पादन भइरहेको छ, भारतबाट कति आयात भइरहेको छ र कुन क्षेत्रमा कति माग र आपूर्ति छ भन्नेबारे प्रत्यक्ष डाटा हेर्न सकिन्छ। प्राधिकरणका अनुसार शुक्रबार पिक आवरमा अधिकतम विद्युत माग १२ सय मेगावाट थियो।

प्राधिकरणको वितरण प्रणालीमा हाल १३ सय मेगावाट विद्युत उपलब्ध छ। मागभन्दा बढी विद्युत भएकाले कतै पनि विद्युत अवरुद्ध हुने अवस्था नरहेको प्राधिकरणले जनाएको छ। मन्त्री पुन राति अबेरसम्म भार प्रेषण केन्द्रमै रह्ने कार्यक्रम छ। मन्त्री पुनलाई भार प्रेषण केन्द्रका प्रमुख सुरेशबहादुर भट्टराईले देशभरको विद्युत उत्पादन र वितरणको अवस्थाबारे अवगत गराएका छन्। 


कस्तो लाग्यो ?

यो पनि