असोज ०६, २०८१, आइतबार
               

प्रजातन्त्र सेनानी सापकोटाको १०७ वर्षमा निधन

नेपाल फ्ल्यास
कात्तिक २९, २०७७

ADVERTISEMENT

नवलपुर । प्रजातन्त्र सेनानी तथा वरिष्ठ समाजसेवी भूमिश्वर सापकोटाको १०७ वर्षको उमेरमा शुक्रबार नवलपरासी गैँडाकोटस्थित आफ्नै निवासमा निधन भएको छ ।

शनिबार बिहान नारायणीमा उनको अन्तिम संस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । विसं १९७१ माघ १ गते बागलुङमा जन्मिएका सापकोटा नेपाली कांग्रेस सेनानी संघका सदस्य रहेका थिए । विसं २०१६ को संसदीय निर्वाचनमा बीपी कोइराला बागलुङ जाँदा उनको आग्रहमा पार्टीको निर्वाचन प्रचार अभियानका सदस्य भई काम गरेका सापकोटा त्यसपछि नेपालमा प्रजातन्त्रको पक्षमा निरन्तर लागे ।

विसं २०१७ पुसमा बीपी पक्राउ परेपछि उनको रिहाइको माग गर्दै बागलुङमा प्रदर्शन गरेबापत सापकोटा जेल परे । सापकोटाले बागलुङको दमेक भेगमा शिक्षा, बाटोघाटो निर्माण तथा अन्य विकासका काममा योगदान पुर्‍याएका छन् । उनले विसं २०१३ मा दमेकस्थित आफ्नै गोठबाट सुरु गरेको विद्यालय हाल जनप्रिय माध्यमिक विद्यालय अमरापुरीका रुपमा स्थापित छ। उनले सो क्षेत्रमा विभिन्न विद्यालय तथा वेदविद्याश्रमको स्थापना र सहयोग गरेका थिए ।

उनी विसं २०२९ मा गैँडाकोटमा बसाइ सरेपछि आधुनिक गैँडाकोट निर्माणमा योगदान पुर्‍याएका थिए । उनकै संयोजकत्व विसं २०३२ मा गैँडाकोटमा सिँचाइ कुलो निर्माण भएपछि तिनताकाको विकट क्षेत्रमा धान खेती सम्भव भएको थियो । गैँडाकोटमा सुप्रसिद्ध कालिका मन्दिर तथा आश्रम, मौलाकालिका लगायत अन्य मठमन्दिरको स्थापना गरी धार्मिक उन्नयनका साथै विविध सामाजिक क्षेत्रमा उनले योगदान पुर्‍याएका थिए । बीपीको सहयात्रीको रुपमा चिनिने सापकोटा धार्मिक, आध्यात्मिक र न्यायको पक्षमा वकालत गर्ने निर्भिक व्यक्तित्व हुन् ।

पञ्चायतको समयमा कांग्रेस पार्टीका कार्यक्रम गरेको, बीपीलाई गैँडाकोट घरमा आतिथ्यता गराएको तथा विसं २०३६ मा विद्यार्थी आन्दोलनमा सहयोग गरेको आरोपमा उनलाई तत्कालिन प्रशासनले पटक पटक दुःख दिएको थियो ।

उनी विसं २०४२ को सत्याग्रह, २०४६ र २०६२/२०६३ को जनआन्दोलनमा सक्रिय भई प्रजातन्त्रको स्थापनाका लागि लडेका थिए ।

उनका छोरा तिलकप्रसाद सापकोटा नेपाली कांग्रेसका नेता तथा नवलपरासीका महासमिति सदस्य छन् । तिलकसहित उनका दुई छोरा र एक छोरी छन् ।


कस्तो लाग्यो ?

यो पनि