असोज ०६, २०८१, आइतबार
               

मङ्सिर दुई गतेबाट काठमाडौंका खुल्ला ठाउँमा खाना नखुवाइने

नेपाल फ्ल्यास
कात्तिक २९, २०७७

ADVERTISEMENT

काठमाडौं । काठमाडौंमा आगामी मङ्सिर दुई गतेबाट खुल्ला सडकमा भोजन सेवा सञ्चालन नगरिने भएको छ । स्वास्थ्य क्षेत्रको जोखिम, कोरोना संक्रमणको सम्भावना र मानवअधिकारको संरक्षण गर्ने उद्देश्यले त्यस्तो सेवा सडक क्षेत्रबाट कुनै बन्द संरचना भित्र स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गरिने जनाइएको छ ।

काठमाडौं महानगरपालिका र भोजन सेवा सञ्चालन गर्ने संस्थाबीच भएको छलफलले उक्त निर्णय गरेको र आगामी दुई गतेबाट भने बन्द संरचनाभित्र व्यवस्थित रुपमा सेवा सञ्चालन हुने सडकमा खाना खुवाउँदै आएको हाम्रो टिम नेपालका संयोजक विमल पन्तले जानकारी दिए । असहाय, अशक्त र शारीरिक रुपमा काम गर्न नसक्नेलाई मानवसेवा आश्रममा खान, बस्न तथा स्वास्थ्य उपचारको प्रबन्ध गरिएको र आवश्यक समन्वयका लागि नजिककका वडा कार्यालय वा सिधै आश्रममा सम्पर्क गर्न काठमाडौं महानगरपालिकाले अनुरोध गरेको छ ।

उक्त आश्रम काठमाडौं महानगरपालिकाको सहकार्यमा सञ्चालित छ ।आश्रमका अध्यक्ष रामजी अधिकारीले त्यस्ता सडक मानवलाई यसअघि सेवा दिइरहेको र आगामी दिनमा पनि सेवा दिन तयार रहेको जानकारी दिए ।

उनका अनुसार मुलुकका २२ शाखामार्फत अहिले झण्डै एक हजार २०० ले यसरी सेवा पाइरहेका छन् । अधिकारीले महानगरको सहकार्यमा उपत्यकालाई सडक मानवरहित बनाउने अभियान जारी रहेको बताए ।

 अन्य व्यक्तिको हकमा भने बन्द संरचनाभित्र सेवा सञ्चालन गर्न सम्बद्ध संस्थालाई महानगरपालिकाले अनुरोध गरेको छ । काठमाडौं महानगरपालिकाले एक सूचना नै जारी गरी सबै सामाजिक संघ संस्थालाई बन्द संरचना भित्र उक्त सेवा सञ्चालन गर्न भनेको छ ।

त्यसका लागि महानगरपालिका तथा वडा कार्यालयबाट आवश्यक समन्वय र सहयोग रहने जनाइएको छ । महानगरपालिकाले कोभिड–१९ का कारण रोजगारी गुमाएका श्रम गर्न सक्नेलाई जीवन निर्वाहका लागि पारिश्रमिक कार्यविधि २०७७ बमोजिम रोजगारी उपलब्ध गराउने भएको छ ।

आश्रमसँगको सहकार्यसँगै काठमाडौं महानगरपालिकाले घोषणा गरेको ‘भोकै कोही पर्दैन, भोकले कोही मर्दैन’ र ‘काठमाडौं मानवीयताको नगर’ अनुरुप स्रोत साधनले भ्याएसम्म राहत वितरण, सामूहिक भोजन सेवा, रोगको संक्रमण नियन्त्रण रोकथामको कार्य सञ्चालन गरिएको जनाएको छ ।

उक्त कार्यमा सहयोग गर्ने सबै संस्था तथा व्यक्तिलाई महानगरले धन्यावाद समेत दिएको छ । सडकमा मजदूरलाई खाना खुवाउँदै आएको संस्था हाम्रो टिम नेपालका संयोजक पन्तले अहिले सडकमा खाना खुवाउने क्रम जारी रहेकाले महानगरसँग सहकार्य गरेर मङ्सिर दुई गतेबाट थप व्यवस्थित गरिने जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि