असोज ०६, २०८१, आइतबार
               

हुम्लाको खार्पुनाथमा पठनपाठन सुरु

नेपाल फ्ल्यास
कात्तिक २६, २०७७

ADVERTISEMENT

सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिकाले मङ्गलबारदेखि शैक्षिक संस्था सञ्चालनमा ल्याएको छ । वडा नं १ देखि ५ सम्म रहेको खार्पुनाथ गाउँपालिकाले पािलकाभरका विद्यालय सञ्चालनमा ल्याएको हो । कोरोना कहरले आठ महिना र हिउँदे बिदा तीन महिना गरेर ११ महिनादेखि बन्द रहेका विद्यालय मङ्गलबारदेखि  सञ्चालनमा आएका हुन् । 

उच्च हिमाली क्षेत्र भएकाले मङ्सिरमा वार्षिक परीक्षा सम्पन्न भएर फागुनमा नयाँ शैक्षिक सत्र सुरु हुने भएकाले ११ महिनादेखि बन्द रहेका विद्यालय स्वास्थ्यसम्बन्धी सुरक्षा सावधानी अपनाएर सञ्चालनमा ल्याइएको गाउँपालिकाले जानकारी दिएको छ ।

जिल्लाका अन्य ६ वटा गाउँपालिकामा रहेका विद्यालयहरु कात्तिक दोस्रो सातादेखि सञ्चालनमा आएपछि खार्पुनाथ र शिक्षा विकास समितिले विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेपश्चात पठनपाठन शुरु गरिएको हो । एघार महिनादेखि विद्यालय जान नपाएका विद्यार्थी खुसी भए पनि नपढेर नै वार्षिक परीक्षा हुने भएपछि चिन्तित भएका छन् । 

जिल्लाभरका विद्यालयहरु एक महिना पढाइ गरेर मङ्सिरमा वार्षिक परीक्षा सम्पन्न गरेर शैक्षिक सत्र बन्द गर्ने तयारीमा छन् । चिसोका कारण मीनपचासका लागि बिदा हुने भएकाले मङ्सिरमा वार्षिक परीक्षा सम्पन्न गरेर तीन महिना विद्यालय बन्द गरी फागुनमा नयाँ शैक्षिक सत्र सुरु गर्ने तयारी भइरहेको छ ।  


कस्तो लाग्यो ?

यो पनि