असोज ०६, २०८१, आइतबार
               

अङ्ग्रेजलाई हराएको सम्झनामा आज सिन्धुलीगढी विजयोत्सव मनाइँदै

नेपाल फ्ल्यास
कात्तिक २४, २०७७

ADVERTISEMENT

सिन्धुली । यहाँको कमलामाई नगरपालिकाले आज सिन्धुलीगढीमा विजयोत्सव मनाउने भएको छ । विसं १८२४ कात्तिक २४ गते नेपाली फौजले अङ्ग्रेज फौजलाई हराएको सम्झनामा नगरपालिकाले विजयोत्सव मनाउने गरेको हो ।

नगरपालिका प्रमुख खड्गबहादुर खत्रीले कोरोनाको संक्रमण फैलिन सक्ने अवस्थालाई मध्यनजर गर्दै सिन्धुलीगढी विजयोत्सव भव्यताका साथ नमनाइने जानकारी दिए । नेपालीहरुको गौरवको किल्ला सिन्धुलीगढीमा हरेक कात्तिक २४ गते मनाइँदै आएको विजयोत्सवलाई सामान्य ढङ्गबाट मनाइने उनको भनाइ छ ।

विगतमा भव्यरूपमा मनाइने विजयोत्सवमा यस वर्ष भने कसैलाई पनि निमन्त्रणा नगरिएको उनले जानकारी दिए । यही अवसर पारेर आज नगरपालिकाले सार्वजनिक बिदा दिएको छ । सिन्धुलीगढी नेपालीहरुले अङ्ग्रेज फौजलाई परास्त गर्दै विजय हासिल गरेको एक मात्र किल्ला भएको हुँदा यस दिन गढीमा जान चाहनेका लागि भने कसैलाई रोक नलगाइएको उनको भनाइ छ ।

नेपाल सरकारले कोरोना भाइरसको संक्रमण फैलन नदिन जारी गरेका निर्देशनहरुको पालना गर्दै सुरक्षित तरिकाले गढीको अवलोकन गर्न पाइने उनले जानकारी दिए । नेपाल सरकारका उच्चपदस्थ अधिकारीहरु बोलाई र्याली, झाँकीसहित गरिने औपचारिक कुनै पनि कार्यक्रम नगरिने नगर प्रमुख खत्रीले बताए । यसपटक विजयोत्सवमा नगर प्रमुख खत्रीले झण्डोत्तोलन गर्ने र नेपाली सेनाले सलामी दिने कार्यक्रम तय भएको नगरपालिकाले जनाएको छ ।

विस. २०६७ मा नेपाल पत्रकार महासंघ सिन्धुली शाखाले सिन्धुलीगढी विजय दिवस मनाउन सुरु गरेको थियो । सिन्धुलीगढीको इतिहास लोप हुन थालेको भन्दै महासंघले प्रचारप्रसारका लागि उक्त दिवस मनाउन सुरु गरेको थियो । त्यसपछिका वर्षमा तत्कालीन जिल्ला विकास समितिको आयोजनामा विजय दिवस मनाउन थालिएको थियो । स्थानीय तहको निर्वाचनपछि कमलामाई नगरपालिकाले विजयोत्सवको आयोजना गर्दै आएको छ । 

यो पनि