भारतको 'रिपब्लिक टिभी'का प्रधानसम्पादक अर्नब गोस्वामी पक्राउ परेका छन् ।
गोस्वामीलाई बुधबार राइगढ प्रहरीले पक्राउ गरेको हो । सन् २०१८ मा गोस्वामीसहित दुई जनाविरुद्ध आत्महत्या गर्न बाध्य पारेको भन्दै मुद्दा दर्ता गरिएको थियो ।
गोस्वामीमाथि ५३ वर्षीय इन्टेरियर डिजाइनरलाई बाध्य पारेको आरोप छ ।
मुम्बई प्रहरीका अनुसार रिपब्लिक टिभीले पैसा नतिरेको भन्दै सन् २०१८ मा ती इन्टेरियर डिजाइनर र उनकी आमाले आत्महत्या गरेका थिए ।
प्रहरीले गोस्वामीलाई आइपिसीको सेक्सन ३०६ र सेक्सन ३४ अन्तरगत पक्राउ गरेको जीन्युजले उल्लेख गरेको छ ।
गोस्वामीले पक्राउ गर्ने क्रममा आफूमाथि मुम्बई प्रहरीले हातपात गरेको आरोप लगाएका छन् ।
बुधबार बिहान अर्नबलाई पक्राउ गर्न मुम्बई प्रहरीका एक दर्जन अधिकारी उनको निवास पुगेको थियो ।
अर्नबलाई थप सोधपुछका लागि राइगढ लगिने बताइएको छ ।
केही दिनअघि मुम्बई प्रहरीले टीआरपी घोटालाको मामिलामा रिपब्लिक टिभीका शीर्ष अधिकारीहरुमाथि अनुसन्धान सुरु गरेको थियो ।
अर्नब गोस्वामी र मुम्बई प्रहरीबीच सुशान्त सिंह राजपुतलगायत विभिन्न मुद्दामा विवाद देखिएको थियो ।