असोज ०६, २०८१, आइतबार
               

कोरोना बिमाको दाबी भुक्तानी सात दिनभित्र दिन सबै बिमा कम्पनीलाई निर्देशन

नेपाल फ्ल्यास
कात्तिक १८, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना बिमाको दाबी भुक्तानी सात दिनभित्र दिन नियामक निकाय बिमा समितिले सबै बिमा कम्पनीलाई निर्देशन दिएको छ ।

कोरोना लागेर निको भइसकेको लामो समयसम्म पनि धेरैले बिमा दाबी भुक्तानी नपाएको व्यापाक गुनासो आए पनि समितिले यस्तो निर्देशन दिएको बताइएको छ । 

समितिका अध्यक्ष चिरञ्जीवी चापागाईंले रोकिएका सबै भुक्तानी दिन निर्देशन दिइएको बताए । कागजात पुरा भएर दाबी परेकालाई नरोक्न निर्देशन दिइएको अध्यक्ष चापागाईंले जानकारी दिए ।

बिमा समितिले पाँच सय रुपैयाँ तिरेर ५० हजार रुपैयाँ र एक हजार रुपैयाँ तिरेर एक लाख रुपैयाँको कोरोना बिमा गर्न सक्ने व्यवस्था गरेको थियो । सामूहिक बिमा गर्दा भने बिमा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो ।

तर, कोरोना धेरैलाई लागेपछि बिमा कम्पनी आत्तिएका थिए । भुक्तानी गर्न नसकिने भन्दै बिमा समितिलाई पोलिसी खारेज गर्न सुझाएका बिमा कम्पनीले अर्बौको भुक्तानी नदिई अहिले रोकेर राखेका छन् । बिमा गरिसकेपछि भुक्तानी दिनैपर्ने भन्दै समितिले यस्तो निर्देशन दिएको जनाएको छ ।

सुरुमा कोभिड पोजिटिभ आउनेबित्तिकै एक लाखको गरेको भए पुरै रकम पाउने भनिएकोमा पछिल्लो पटक मापदण्ड संशोधन गर्दै समितिले पोजिटिभ आएमा २५ प्रतिशत रकम तत्कालै र बाँकी ७५ प्रतिशतसम्म रकम अस्पताल वा होटल आइसोलेसनमा बसेको बिल भपाई पेश गरिसकेपछि दिने व्यवस्था गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि