जेठ ०३, २०८१, बिहीबार
               

धरहरा बन्ने समयावधि अझै लम्बिने

नेपाल फ्ल्यास
कात्तिक ०६, २०७७

ADVERTISEMENT

२०७२ सालमा गएको विनाशकारी भूकम्पका कारण भत्किएका सांस्कृतिक धरोहरमध्ये रानीपोखरी र नेपालकै पुरानो दरबार हाइस्कुलको पुनर्निर्माण सकिएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार उद्घाटन गरेकी छिन् । आम्नेसाम्ने रहेका दुवैको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले एकैसाथ गरेकी छिन्। 

तर, राष्ट्रपतिले उद्घाटन गरेको नजिकै रहेको धरहराको भने पुनर्निर्माण अवधि लम्बिने देखिएको  छ। कोभिड–१९ का कारण करिब एक महिना धरहरा पुनर्निर्माणको काम ठप्प भएपछि र सुरुदेखि नै काममा अलमल भएकाले निर्माणको अवधि दोब्बर लम्बिने सम्भावना बढेको हो । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले २०७७ असोज २० सम्ममा धरहरा निर्माणको काम पूरा गर्ने गरी रमन कन्स्ट्रक्सनसँग २०७५ सालमा सम्झौता भएको थियो । तर, अहिलेसम्म धरहराको पुनर्नर्माणको करिब ४५ प्रतशत मात्रै काम भएको कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठको भनाइ छ । अहिलेसम्म १६औँ तलाको ढलान सकिएको छ । धरहराको टावरमा अझै ६ तला थप्न बाँकी छ ।

काममा तालमेल हुन नसक्दा काम ढिलो हुनु,  सरकारले समयमै जग्गा खाली गर्न नसक्नु, सरकारले हुलाक र टक्सारको भवन समयमै खाली गराउन नसक्दा धरहरा पुनर्निर्माणको काम ढिलो भएको प्राधिकरणको भनाइ छ । 

धरहरा झट्ट हेर्दा पुरानै शैलीको देखिए पनि पहिलेको भन्दा भिन्न हुने प्राधिकरणले बतायो । अहिले बनिरहेको धरहरामा २२ तला हुने प्राधिकरणको भनाइ छ ।  कुल लागत तीन अर्ब ४५ करोड हुने बताइएको छ । 

कुल ४२ रोपनी क्षेत्रफलमा बन्दै गरेको धरहराको संरचना पहिलाको भन्दा चौडा हुनेछ । त्यस्तै उचाइ ८० मिटर र चौडाइ १४ दशमलव दुई मिटर रहनेछ । निर्माणाधीन धरहरामा एउटा भर्‍याङ र दुई वटा लिफ्ट हुनेछन् ।

नयाँ धरहरामा पार्किङ, बगैँचा, संग्रहालय, प्रदर्शनी हल लगायत हुनेछन् । भूकम्पले भत्काएको पुरानो धरहराको ठुटो पनि संरक्षण गरिनेछ ।


कस्तो लाग्यो ?

यो पनि