बैशाख १७, २०८१, सोमबार
               

बेसहारा दिदीबहिनीले पाए घर

नेपाल फ्ल्यास
कात्तिक ०५, २०७७

ADVERTISEMENT

पूर्वी चितवनका समाजसेवीको अगुवाइमा दशैँका बेला बेसहारा अवस्थामा रहेका दिदीबहिनीले नयाँ घर पाएका छन् । कालिका नगरपालिका–५ का ती दिदीबहिनीका लागि आर्थिक सहयोग सङ्कलन गरी घर निर्माण गरिएको हो ।

वर्षातकाे समयमा लाठीले बोरा अडाएर त्यहीँभित्र जीवन गुजारिरहेका उनीहरूलाई यहाँका सामाजिक अगुवाले सहयोग जुटाएर घर बनाइदिएकाे हाे । निषेधाज्ञाको समयमा दुःख परेकालाई सहयोग गर्न सङ्गठित भएको अगुवाको समूहले सहयोग जुटाएर घर निर्माण गरेको हो ।

खैरहनी नगरपालिका वडा नं ८ का मुरलीप्रसाद गजुरेल, प्रेम रिमाल, कमल पाठक, अशोक न्यौपाने र लेखबहादुर पुनले एक महिना लगाएर घर निर्माण गरिदिएका हुन् । गजुरेलले भने, “त्यहाँ ६२ वर्षकी मुसरी महतो र ४८ वर्षीया बहिनी फोहोरी महतोको अवस्था बिजोग देखेर हामीले सहयोग जुटाएर घर बनाएका हौँ ।” स्थानीय पत्रकार सन्तकुमार चौधरीले उनीहरूको अवस्थाका बारेमा समाचार लेखेपछि गजुरेलसहितको अगुवाले सुरुमा उनीहरूलाई छ महिना खानाको व्यवस्था गरेको बताए ।

गजुरेलका अनुसार लाठीले बोरा अडाएर मुसल्धारे वर्षातमा बसेको देखेर अगुवाहरूले सुरुमा त्रिपाल, म्याट र टर्च लाइट सहयोग गरेको थियो । उनीहरूकै दुई बहिनीको थोरै जग्गाको छेउमा गजुरेलको समूहले घर बनाइदिएको हो । घर बनाउन तीन लाख खर्च भएको उनको भनाइ छ ।

घर निर्माणका लागि स्वदेश र विदेशबाट दाताले तीन लाख ४६ हजार पठाएका छन् । १४ फिट चौडाइ र २० फिट लम्बाइको टिनले छाएको चिटिक्कको घरमा दिदीबहिनी बस्न शुरु गरेका छन् । दाताको नाम लेखेर औपचारिकरूपमा हस्तान्तरण गरिने उनले जानकारी दिए । ती दिदीबहिनीका लागि दाताकै सहयोगमा लत्ताकपडा र भाँडावर्तनको व्यवस्था पनि गरिएको छ । 

पत्रकार चौधरीले आफ्नो क्षेत्रमा समाजिक अगुवाहरुले नमूना काम गरेको बताए । मानवीय सेवामा यो उदाहरणीय काम भएको नेपाल पत्रकार महासङ्घ जिल्ला शाखाका सहसचिवसमेत रहेका चौधरीले बताउए । ती दिदीबहिनीमध्ये जेठीको माडीमा र बहिनीको भण्डारामा विवाह भएको भए पनि श्रीमानले छाडेपछि स्थानीयवासीको गाईभौँसी चराउने काम गर्दै आएका थिए । 


कस्तो लाग्यो ?

यो पनि