जेठ ०२, २०८१, बुधबार
               

खाद्य कम्पनीले भेडा च्याङ्ग्रा नबेच्ने, खसीबोका भोलिबाट बिक्री हुँदै

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७

ADVERTISEMENT

वर्षेनी दसैँमा भेडा च्याङ्ग्रा र खसी बोका बेच्दै आएको सरकारी संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनीले यो वर्ष भने च्याङ्ग्रा नबेच्ने भएको छ। चीनबाट भेडा च्याङ्ग्रा नभित्रिएको र स्वदेशी महँगो भएको भन्दै खसीबोका मात्रै बेच्ने भएको हो ।

सहुलियत दरमा बिक्री गर्नका लागि खरिद गरेका एक हजार खसीबोकामध्ये २०५ वटा काठमाडौं आइपुगेका छन् । कम्पनीका नायब महाप्रबन्धक श्रीमणि खनालका अनुसार कम्पनीले सोमबारदेखि खसीबोका बिक्री थाल्ने भएको छ ।

‘खसीबोका भित्रिने क्रम छ। पहिलो लट आइसकेको छ। आजै थप अर्को लट पनि आइरहेको छ,’ उनले भने। 
कम्पनीले मंगलबारसम्ममा एक हजार खसीबोका ल्याउने उनले बताए । राजधानीमा बिक्रीका लागि कम्पनीले हेटौँडा र दाङको तुल्सीपुरबाट खसीबोका खरिद गरेको हो । एकैचोटि धेरै ल्याएर व्यवस्थापन गर्न गाह्रो हुने भएकाले थोरै थोरै ल्याउँदै बिक्री गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले खसीबोकाको बिक्री सोमबारदेखि थापाथलीस्थित बिक्रीकक्षबाट गर्ने टुंगो गरेको छ। 

मूल्य भने तोक्न बाँकी छ। केही खसीबोका आइपुगेका हुनाले मूल्य निर्धारण आइतबार बेलुकासम्म हुने कम्पनीले जनाएको छ । उपभोक्तले कम्पनीबाट खसीबोका खरिद गर्दा १० रुपैयाँ छुट पाउनेछन् ।  कम्पनीले यो दसैँका लागि च्याङ्ग्रा खरिद गरेको छैन ।

गत महिना कम्पनीले दसैंका लागि १४ सय च्याङग्रा ल्याउने निर्णय गरेको थियो। पछि एक हजार वटा च्याङग्राको  ढुवानी टेन्डर गरे पनि दरभाउ नमिलेर किन्न नसकेपछि च्याङ्ग्रा नल्याउने निर्णय गरेको हो ।


कस्तो लाग्यो ?

यो पनि