जेठ ०२, २०८१, बुधबार
               

पक्राउ पर्लान् त क्यासिनो किङ ‘बले’ ?
एक अर्बको अवैध सम्पत्ति राखेका ‘बले’विरुद्ध २० करोड बिगो !

नेपाल फ्ल्यास
कात्तिक ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । अहिले इन्टरनेटमा ‘बले’ शब्द सर्च गर्ने हो भने हास्य कलाकार सागर लम्साल ‘बले’सँग सम्बन्धित फोटो तथा विवरणहरू अग्रपंतिमा देखा पर्छ । क्यासिनो किङको रूपमा रहेका गुन्डा नाइके बलराम सापकोटा उर्फ ‘बले’ खासै देखिँदैन ।

तर आधा दशक अघिसम्मको अवस्था अलिक भिन्न थियो । त्यसबखत अर्कै ‘बले’को हालिमुहाली थियो । आपराधिक दुनियाँमा ‘बले’ नामले परिचित बलराम सापकोटा इन्टरनेटमा समेत अग्रपंतिमा आउँथे ।

आधा दशकपछि उनै बलराम सापकोटा उर्फ ‘बले’ इन्टरनेट सर्च गर्दा पछि परेनन् मात्रै आपराधिक दुनियाँबाट समेत पछि हटेका छन् । काठमाडौँ प्रहरी प्रमुख हरेक वर्ष फेरिन्छन् । केही वर्ष अघिसम्म नयाँ प्रमुख आउनासाथ गुण्डागर्दी ठिक पार्ने भन्दै गुन्डा नाइकेहरूको हिटलिष्ट तयार पार्थे । 

त्यही लिस्टमा बर्सेनि छुट्दैनथे उनै बलराम सापकोटा ‘बले’। तर पछिल्ला पाँच वर्षयता नयाँ प्रहरी प्रमुखले निकाल्ने गुन्डा नाइकेको सूचिमा उनको नाम हराउँदै गयो । धेरैले उनलाई बिर्सँदै पनि गए ।

तर केही दिनयता एकाएक तीनै ‘बले’ पुनः चर्चामा आएका छन्  । जब सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले उनै ‘बले’विरुद्ध विशेष अदालतमा मोटो रकम बिगो दाबी गर्दै मुद्दा दायर गर्‍यो  । अपराध कर्मबाट कमाएको पुरानै टाइटल ‘बले’ पुनः चर्चामा आएको छ । उनको विगतको आपराधिक क्रियाकलाप र अवैध सम्पत्ति आर्जन चर्चा र चासोको विषय बनेको छ ।

एक अर्बको अवैध सम्पत्ति, २० करोड मात्र बिगो मुद्दा

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बलेविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनलाई १७ करोड ४७ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ । क्यासिनो ‘किङ’ भनेर चिनिने ‘बले’सँगै उनकी श्रीमती सिर्जना कक्षपतिलाई दुई करोड ४७ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरिएको छ । बले भने हाल फरार रहेको जनाइएको छ ।

उनीहरूसँग करिब एक अर्ब रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति रहेको र उक्त सम्पत्ति जफत गर्न माग गरिएको छ । एक वर्ष लामो अनुसन्धानपछि बले र उनकी श्रीमतीविरुद्ध मुद्दा लगेको विभागका महानिर्देशक रूपनारायण भट्टराईले जानकारी दिए ।

उनले भने ‘उनीहरूले मुख्य गरी होटेल र घरजग्गामा लगानी गरेका छन् । जुन लगानीको स्रोत खुलेको छैन । करिब एक अर्ब रुपैयाँ बराबरको सो सम्पत्ति उनीहरूले गैरकानुनी रूपमा जोडेको देखिन्छ ।’

बलेले मानव तस्करी, हातहतियार प्रयोग दुरुपयोग र मिटर ब्याज लगानीबाट सो सम्पत्ति आर्जन गरेको विभागले दायर गरेको रिटमा उल्लेख छ । एक वर्षअघि बले महाराजगन्जको जुवा अखडाबाट समातिएका थिए । सो घटनापछि विभागले उनीविरुद्ध छानबिन गर्न थालेको थियो ।

कति छ बलेको सम्पत्ति ?

बले दम्पतीको सबैभन्दा धेरै अवैध सम्पत्ति झापामा रहेको देखिन्छ । बले र उनकी श्रीमतीका नाममा झापामा १३ बिगाहा जग्गा छ । त्यही जग्गामा उनको लगानीमा मेची क्राउन प्लाजा नामक पाँचतारे होटेल छ ।

झापाको पाँचतारे होटेलसहित बलेको नाममा काठमाडौंमा आठ आना जग्गा पनि रहेको छ । जसको स्रोत खुलेको छैन । सो जग्गामा बनेको घरको पनि स्रोत खुलेको छैन । यस्तै उनको गृह जिल्ला काभ्रेमा ६ रोपनी जग्गा भेटिएको छ । बलेसँग अत्याधुनिक सवारी साधनहरू देखिएका छन् । चल-अचल सम्पत्ति र सवारीसाधन जफतका लागि पनि मुद्दा दायर गरिएको विभागको भनाइ छ ।

बलेले क्यासिनोमा नेपालीलाई छिराउँथे । पैसा हार्दै गएपछि मिटर ब्याजमा सापटी दिन्थे । एकैदिनमा रकमको आधा ब्याजमा लिन्थे । प्रहरीका उच्च अधिकारीलाई घुस दिन्थे । र उनीहरू लगाएर मिटर ब्याजको पैसा उठाउँथे । पैसा तिर्न नसकेपछि घर–जग्गा धितो राख्ने कागज गराउन र लिलामी गराउँथे । सोही पृष्ठभूमिबाट उनले अवैध रूपमा धेरै आर्जन गरेको उनलाई नजिकबाट चिन्नेहरू बताउँछन् ।

क्यासिनो अवैध धन्दा

झापाको मेची क्राउन प्लाजामा क्यासिनो खोलिएको छ । जुन हालै मात्र सञ्चालनमा आएको हो । उक्त होटेलमा रहेको क्यासिनो अनुमतिबिनै सञ्चालन गरिएको समेत विभागको अनुसन्धानबाट खुलेको छ । भारतीय र बंगलादेशी ग्राहकका लक्षित गरी क्यासिनो सञ्चालनमा ल्याइएको उनले बताएका थिए ।

उक्त क्यासिनो बन्द गराइसकेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बताएको छ । ‘अवैध रूपमा क्यासिनो सञ्चालन गरेको पाइएपछि हामीले नियामक निकायलाई बन्द गराउन रिपोर्टिङ गरिसकेका छौँ, अहिले बन्द भइसकेको छ’ महानिर्देशक भट्टराईले भने ।

उनै बले गत वर्ष तिहारमा महाराजगन्जको मिनी क्यासिनोबाट पक्राउ परेका थिए । दुई करोड ६७ लाख नगदसँगै अरू हाई प्रोफाइलसहित उनी पक्राउ परेका थिए ।

रमेश खरेललाई भेट्न जाँदा थुनिएका थिए ‘बले’

काभ्रे रोशी गाउँपालिकाका बलराम सापकोटा ‘बले’ नामले परिचित भएका हुन् । सुरुमा उनी दरबारमार्गको पाँचतारे होटेलमा सामान्य कामदार थिए । उनलाई त्यही काम गर्दा ‘बले’ भनिन्थ्यो । त्यही होटेलको क्यासिनोबाट उनी मौलाउँदै गएर ‘क्यासिनो किङ’ भनेर चिनिए ।

बले दरबारमार्ग क्षेत्रको आपराधिक तथा रात्रिकालीन व्यवसाय विशेष गरी क्यासिनोको मिटर ब्याज लगानी गरेको भन्दै उनी पक्राउ समेत परेका थिए । प्रहरीको सूचीमा उनी आपराधिक गतिविधिका गुन्डा नाइकेको रूपमा थिए ।

सुरुमा बलेको अखडा एभरेस्ट क्यासिनो थियो । पछि उनी दरबारमार्गतिर लागे । उनी अन्नपूर्ण क्यासिनोमा हारेका जुवाडेलाई मौखिक धितोमा ऋण दिन्थे । एक लाख रुपैयाँको ब्याज दिनमै १० हजार लिन्थे । उनी प्रहरीका उच्च अधिकारीलाई आर्थिक प्रलोभनमा पारेर मिटर ब्याज उठाउनेदेखि घरजग्गा लिलामी गर्थे । जानकारहरूको अनुसार प्रहरी प्रमुखको पोस्टिङ हुनासाथ बले उपहारसहित जाने गर्थे । 

२०७० सालमा काठमाडौं प्रहरीमा एसएसपी रमेश खरेल आएका थिए । केही दिनपछि खरेललाई भेट्न बले पुगे  । तर खरेलले उनीसँग हात मिलाएनन् । हतकडी लगाइदिए । खराब चरित्रको व्यक्ति आफूलाई भेट्न आएकै झोँकमा खरेलले उनलाई सार्वजनिक मुद्दामा थुनिदिएका थिए । त्यसको तीन वर्षअघि २०६७ सालमा खरेल एसपी हुँदा काठमाडौं प्रहरीमै थिए । उनै खरेलले बलेलाई पटकपटक पक्राउ गरेका थिए । सार्वजनिक मुद्दामा पक्राउ परेका उनलाई प्रशासनले धरौटीमा छोडेको थियो ।

खरेल भन्छन् ‘बलेले क्यासिनोमा नेपालीलाई छिराउँथे । पैसा हार्दै गए पनि मिटर ब्याजमा सापटी दिन्थे । एकै दिनमा रकमको आधा ब्याजमा लिन्थे । पछि प्रहरी लगाएरै त्यो पैसा उठाउँथे । पैसा तिर्न नसकेपछि घर–जग्गा धितो राख्ने कागज गराउन र लिलामी गराउँथे ।’ आफू काठमाडौँ प्रहरी प्रमुखमा जानुअघि प्रहरीका हाकिमहरूले क्यासिनोबाट महिनावारी तलब खाने गरेको खरेलको आरोप छ ।


कस्तो लाग्यो ?

यो पनि