जेठ ०९, २०८१, बुधबार
               

टीकापुरका सामुदायिक विद्यालयमा एउटै रङ

नेपाल फ्ल्यास
कात्तिक ०१, २०७७

ADVERTISEMENT

टीकापुर । देशभरका सबै विद्यालयको भौतिक पूर्वाधार एकै रङको बनाउन शिक्षा विभागले दिएको निर्देशनपछि कैलालीको टीकापुरका सबै विद्यालयमा रङरोगन गरिएको छ । टीकापुर नगरपालिकाले पहिलो चरणमा १८ विद्यालयमा रङरोगन गरेको हो । 

शिक्षा विभागको निर्देशन अनुसार विद्यालयमा एकरुपता ल्याउन रङ्गरोगन गरिएको शिक्षा अधिकृत नरेश अवस्थीले बताए । ‘‘सरकारले सबै विद्यालय एउटै खालको देखिनुपर्छ भनी गरेको निर्णयअनुसार हामीले पनि रङ्गरोगन थालेका छौँ’, अधिृकत अवस्थीले भने,  ‘‘विद्यालय रङरोगन गर्दा सरसफाइ र मर्मतको माग पनि भएको छ, यसले शिक्षक, विद्यार्थी सबैलाई उत्साहित बनाएको छ ।’

सबै विद्यालय भवनको रङ एकै प्रकारको बनाउन र शिक्षाका निकायमा एकरूपता ल्याउन अनिवार्य रूपमा कलर कोड प्रयोग गर्न थालेको उने बताए । टीकापुर नगरपालिकाले पहिलो चरणमा माध्यमिक विद्यालयलाई प्राथमिकतामा दिएर रङरोगन गरेको हो ।

‘संघीय सरकारको ७६ लाख रुपैयाँ बजेट रङरोगनका लागि आएको थियो, जसमा टेण्डर आह्वानमा ३९ लाख रुपैयाँमा ठेक्का स्वीकृत भएर १८ विद्यालय रङरोगन सकियो’, नगरपालिकाका इञ्जिनीयर नवीन ओझाले भने, ‘अब बाँकी रहेको रकम पुनः ठेक्का सम्झौता गरी थप विद्यालय यसै आर्थिक वर्षमा रङरोगन गरिनेछ ।’ टीकापुर नगरपालिकामा ३४ वटा सामुदायिक विद्यालय छन् । नगरपालिका आफैँले बजेट थप गरेर भए पनि यसै आर्थिक वर्षमा सबै विद्यालय रङ्गरोगन गर्ने योजना बनाएको छ ।

शहरी विकास तथा भवन निर्माण विभागद्वारा जारी सार्वजनिक भवनमा प्रयोग हुने रङसम्बन्धी निर्देशिका–२०६९ अनुसार एकै रङ प्रयोग गरिएको छ । निर्देशिका अनुसार भवनको मुख्य प्लास्टरको भाग फिका पहेलो, मुख्य भाग इँट्टा वा ढुङ्गाको गाह्रोमा पारदर्शी रसायन प्रयोग भएको, ठाडो र तेस्रो ब्यान्ड सेतो, छज्जा वा फेसिया खरानी र छाना तेरकोटा वा रातो बनाइएको इञ्जिनीयर ओझाले बताए ।

पहेलो रङ उज्यालो र सबैलाई मनपर्ने भएकाले विद्यालयको मुख्य भाग पहेलो र घामपानीबाट जोगाउन मुख्य भागको इँट्टामा पारदर्शी रसायन प्रयोग गरिएको नगरपालिकाले जनाएको छ । ‘कोरोना महामारीपछि यहाँका अधिकांश विद्यालय क्वारेन्टिन बनाइएका थिए’, इञ्जिनीयर ओझा भने, ‘अहिले ती विद्यालय सरसफाइसँगै रङरोगन गर्दा विद्यालय प्रशासन र अभिभावक खुशी भएका छन् ।’

त्रिभुवन मावि बटनपुरका प्रधानाध्यापक रवीन्द्रबहादुर कठायतका अनुसार रङरोगनपछि विद्यालय सफा र आकर्षक देखिएका छन् । वर्षौदेखि रङरोगन गर्न नसकिएका विद्यालय रङरोगनपछि आकर्षक देखिनुका साथै विद्यार्थीको आकर्षण बढेको उनले बताए ।

‘कतिपय विद्यालय स्थापनादेखि अहिलेसम्म कहिल्यै रङरोगन नभएका पनि थिए, मर्मत नभएर खण्डहर जस्तै भएका थिए’, प्रधानाध्यापक कठायतले भने, ‘अहिले चिटिक्क देखिएका छन्, सफा सबैलाई मनपर्छ । यसले उत्साह थपिदिएको छ ।’

टीकापुर नगरपालिकामा ३४ वटा सामुदायिक विद्यालय छन् भने निजी विद्यालयको सङ्ख्या ४२ रहेको छ । ‘‘निजी विद्यालयमा पनि कलर कोड गर्न सकिएको भए विद्यालय पहिचानमा सहज हुने थियो’, अभिभावक रंग तिमिल्सिनाले भने, ‘निजी विद्यालयमा पनि कलर कोड गरेर एक खालको देखिन सके विद्यालय पहिचानमा सहजता हुन्छ ।’


कस्तो लाग्यो ?

यो पनि