काठमाडौंमा फ्ल्याट नै भाडामा दिने प्रचलनले एउटा कोठा मात्र भाडामा लिएर बस्न चाहनेहरु पीडित बनिरहेका थिए । उनीहरु कहिले कोठा खोज्ने दलालको फन्दामा पर्ने गर्थे त कहिले घरबेटीले नै अनावश्यक भाडा असुल्दा पीडित बन्दै आएका थिए ।
तर, अहिले भने अवस्था फेरिएको छ । डेरावालले छानिछानी सस्तोमा कोठा लिइरहेका छन् । कोरोना महामारीका कारण धेरैले काठमाडौं उपत्यका छाडेर गएपछि काठमाडौंका धेरै ठाउँमा कोठा खाली हुँदा भाडमा बस्नेहरुले त्यसको फाइदा लिएका हुन् ।
कोठामा बस्न होस् वा व्यापार व्यवसाय गर्न सटर पाउनै मुस्किल हुने काठमाडौमा अहिले जताततै कोठा, फ्याट खाली छ। यति सम्मकी आकर्षक ठाउँमा समेत सटर खाली छ। ‘टु लेट’, ‘कोठा, फ्ल्याट खाली छ’ भन्ने सूचना जताततै देख्न पाइन्छ ।
कोरोना सङ्क्रमणका कारण चार महिना लामो लकडाउन र त्यसपछिको निषेधाज्ञाले उपत्यकामा घरहरु खाली भएका हुन् । कोरोनाले व्यापार व्यवसाय धरासायी बन्न थालेपछि धेरैले पसल छाड्न थालेका छन् । होटेल, रेष्टुरेन्ट, होस्टलदेखि अधिकांश व्यवसाय गर्ने व्यवसायीले व्यवसाय नै बन्द गरेर घर खाली गराएका छन् ।
कोठा खाली हुनुको अर्को कारण अध्ययनका लागि उपत्यका आएका विद्यार्थी लकडाउन वा कामले गाउँ फर्किँदा कोठा र फ्ल्याट खाली भएका छन् ।
मानिसहरु भन्छन्, ‘भएका पनि कम भाडा भएको घरमा सर्ने क्रम बढेको छ । यसैले धमाधम धेरै ठाउँहरु खाली भएका छन् ।’
यति मात्रै होइन काठमााडौंको बसाइ टुंग्याएर गाउँ फर्किनेको संख्या बढी छ । दसैपछि अझ काठमाडौंमा धेरै कोठा तथा फ्याट खाली हुने देखिन्छ ।
कति कोठा खाली भए भन्ने आधिकारिक तथ्याङ्क नभए पनि अधिकांश घरमा कोठा खाली छन् । बस्ने मानिस आएका छैनन् । काठमाडौं हाँडीगाउँका घरधनी लक्ष्मण शर्मा उपत्यकाभरि नै यो समस्या रहेको बताउँछन् । उनी भन्छन् ‘उपत्यकाभरि यस्तै समस्या छ, कोठा खाली छ, तर बस्ने मानिस आएका छैनन् ।’
कोरोना नियन्त्रणमा आएपछि बाहिरबाट आउने क्रम सुरु नहुँदासम्म काठमाडौंका घरधनीले कोठामा बस्ने पाउन गाह्रो हुने देखिन्छ । घरभेटीहरु भन्छन्, ‘भाडामा बस्ने मानिस पाइन छाड्यो, बैंकको लोन तिर्न सकस भयो ।’