काठमाडौं । भन्सार चोरी पैठारी गरेका मालवस्तुको भूक्तानीका लागि गैर कानूनी रुपमा मुद्रा पठाइ विदेशी विनिमय अपचलन गर्ने व्यवसायीविरुद्ध राजस्व अनुसन्धान विभागले मुद्दा चलाएको छ ।
जेएसएस मोबाइल कलेक्सन एण्ड सर्भिसेज प्रालि र श्री श्याम इम्पेक्स सञ्चालक मोहन वंशल र गोविन्द वंशललाई ८५ करोड ९५ लाख २२ हजार रुपैयाँ बिगो बराबरको विदेशी विनिमय अपचलन गरेको विभागको आरोप छ ।
उक्त बिगो असुलउपर गरी तीन गुणासम्म जरिवाना र तीन वर्षसम्म कैद साजयको मागदावी लिई बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको विभागका महानिर्देशन दीर्घराज मैनालीले जानकारी दिए ।
जेएसएस मोबाइल कलेक्सन एण्ड सर्भिसेज प्रालि र श्याम इम्पेक्समार्फत विदेशमा निर्मित मोवाइल, मेमोरीकार्ड लगायत माल वस्तुहरु पटकपटक भन्सार नतिरी चोरी पैठारी गरी अवैध बिक्री गरेको पाइएको विभागले जनाएको छ ।
कानून अनुसार माल वस्तुको निकासी वा पैठारी गर्दा अनिवार्य भन्सार विन्दुमा माल वस्तुको घोषणा गर्ने र लाग्ने महशुल भुक्तानी गरी निकासी र पैठारी गर्नुपर्ने व्यवस्था रहेको छ ।
यस्ता मालवस्तु तेश्रो मुलुकबाट ल्याउँदा विदेशी मुद्रा भुक्तानी नगरी ल्याउन सकिँदैन । ठूलो मात्रामा विदेशी मुद्रा गैर कानूनी रुपमा विदेश पठाई विदेशी विनिमय अपचलन गरेको विभागले जनाएको छ ।
विदेशी विनिमय अपचलन गरी विदेशी विनिमय (नियमितता गर्ने) ऐन, २०१९ को दफा ४, दफा ८ (२) र दफा ९ (ग) बमोजिम कसुर गरेकाले मुद्दा चलाइएको मैनालीले जानकारी दिए।