पोखरा महानगरपालिका-३१ का मुटुरोगी कर्णबहादुर दुरालाई सहयोग गर्न सुरु गरिएको ‘दुराकान्छा बचाउ अभियान‘ले बुधबार सङ्कलित रकम हस्तान्तरण गरेको छ ।
स्थानीय युवा महेश पौडेलको संयोजकत्वमा गठित दुरा कान्छा बचाउ अभियानले सङ्कलन गरेको चार लाख ५२ हजार रुपैया नेपाल सरकारका पूर्व कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञवहादुर थापाले दुरालाई उक्त रकम हस्तान्तरण गरेका हुन् । थापाले स्वास्थ्यमा नागरिकको सहज पहुँच नहुँदा विपन्न नागरिकलाई बाँच्न गाह्रो भएको जनाउँदै स्वास्थ्यमा सबैको पहुँच हुनुपर्नेमा जोड दिए ।
काँग्रेसका स्थानीय नेता राजेन्द्रमणि लामिछानेले अभियानले जुटाएको सहयोग मानवीयताको एक नमूना भएको बताए । अभियानका संयोजक महेश पौडेलले सबैको उदारमनले सहयोग उठेको उल्लेख गर्दै सामाजिक सेवामा सबै एकजुट हुनुपर्ने धारणा राखे। दुरा एक वर्षदेखि मुटुरोगबाट पीडित छन् । हालै थप उपचारका लागि शहीद गंगालाल हृदय रोग केन्द्र पुगे उनलाई कोरोना सङ्क्रमण देखिएपछि त्यसलाई पनि जितेर अब शल्यक्रियाको तयारीमा छन् ।