जेठ ०४, २०८१, शुक्रबार
               

बामदेव गौतमबिरुद्धको मुद्दा आज पनि पेसीबाटै स्थगित

नेपाल फ्ल्यास
असोज २८, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमकाबिरुद्धमा परेको मुद्दा आज पनि संवैधानिक इजलासको पेसीमा चढ्न सकेन । 

आज २८ गते सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले सुष्मलत्ता माथेमा, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा र तेजबहादुर केसी गरी तीन वटा इजलासमा मात्र पेसी तोकेका छन् ।

यसैबीच, गौतमविरुद्धको मुद्दाको सुनुवाई दसैंपछि मात्रै हुने देखिएको छ ।

आज संवैधानिक इजलास बस्न नसकेपछि दसैंअघि उनको मुद्दामा सुनुवाइ हुने संभावना लगभग टरेको हो । 

सर्वोच्च अदालतका  केही न्यायाधीश र अधिकृतमा कोरोना भाइरस संक्रमण देखिएका कारण संवैधानिक इजलास बस्न नसकेको हो ।

सर्वोच्चका न्यायाधीश पुरुषोत्तम भण्डारीलाई कोरोना संक्रमण देखिएपछि गौतमको मुद्दा हेर्दा हेर्दैको पेसी सूचीबाट हटाइएको थियो । गौतमको मुद्दा हेर्नका लागि प्रधान न्यायाधीश जबराले असोज १४ गते आफ्नै नेतृत्वमा दीपककुमार कार्की, हरिकृष्ण कार्की, ईश्वर खतिवडा र विश्वम्भरप्रसाद श्रेष्ठसहितको संवैधाननिक इजलास गठन गरेका थिए ।

हप्तामा बुधबार र शुक्रबार मात्रै संवैधानिक इजलास बस्छ । आगामी शुक्रबार संवैधानिक इजलास बस्ने सम्भावना नरहेको सर्वोच्च स्रोतले जानकारी दिएको छ ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतमलाई राष्ट्रिय सभा सदस्य मनोनीत गर्ने निर्णय बदर र मन्त्री नबनाउन माग गरेर रिट दायर गरेका थिए ।

२०७४ को प्रतिनिधि सभा सदस्य निर्वाचनमा  बर्दियाबाट पराजित भएका गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा सदस्य मनोनीत गरेकी थिइन् ।


कस्तो लाग्यो ?

यो पनि