असोज ०५, २०८१, शनिबार
               

चाडबाडलाई लक्षित गरेर चितवनमा यात्रु सहायता कक्ष स्थापना

नेपाल फ्ल्यास
असोज २८, २०७७

ADVERTISEMENT

भरतपुर । नजिकिँदै गरेका चाडपर्व दशैँ, तिहार, छठलाई लक्षित गर्दै चितवनका चार स्थानमा यात्रु सहायताकक्ष स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले मानिसको बढी भीडभाड हुने क्षेत्र नारायणगढको पुलचोक, पोखरा बसपार्क, केन्द्रीय बस टर्मिनल र मुग्लिङमा यात्रु सहायताकक्ष स्थापना गरेको हो ।

चाडबाडका बेला समस्यामा परेका यात्रुलाई समयमै सहयोग गर्नका लागि यो कक्ष स्थापना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख जयकृष्ण भट्टले जानकारी दिए ।

उनले भने, ‘दशैँ तथा तिहार मनाउन जिल्लामा भित्रिने र बाहिरिने यात्रुहरुको सहजता र सुरक्षालाई मध्यनजर गरेर कक्षको स्थापना गरेका छौँ, चाडबाडको अवधिभर हामीले यसैबाट सहयोगी भूमिका निर्वाह गर्छौँ’, उनले जिल्ला प्रहरी कार्यालय चितवनको चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत सहायता कक्ष निर्माण गरिएको बताए ।

सहायता कक्षको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले औनपचारिकरूपमा मङ्गलबार उद्घाटन गरे । सरकारले नै औपचारिक कार्यक्रम नगर्न र उद्घाटन जस्ता कार्यक्रम नगर्न भनेपछि प्रजिअ भट्टराईले अनौपचारिक रुपमै कार्यको शुभारम्भ भएको घोषणा गरेका थिए । सो अवसरमा प्रजिअ भट्टराईले सरकारले जो जहाँ छन् त्यही बसेर चाडबाड मनाउन आग्रह गरिएकाले सोही अनुरुप मनाउन आग्रह गरे ।

उनले यसपटक विल्कुलै फरक तवरले चाडबाड मनाउनुपर्ने भएकाले सबैले सजगता अपनाएर मनाउन आग्रह गरे । उनले यस सहायता कक्षले आपतविपतमा परेका यात्रुको व्यवस्थापन र यातायातमा अपनाइएको सुरक्षा मापदण्डका विषयमा समेत अनुगमन गर्ने प्रजिअ भट्टराईले बताए । 

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले चाडबाडमा हुने घटना हुन नदिन प्रहरी सतर्क रहेको बताए । उनले चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत नै सहायता कक्ष स्थापना भएको भन्दै नागरिकको सुरक्षाका लागि प्रहरी कटिबद्ध रहेको बताए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष रामप्रसाद सुवेदीले सरकारको निर्देशन अनुरुप नै यातायात व्यवसायीले व्यवसाय सञ्चालन गर्ने बताए । उनले चाडबाडका बेला बसमा हुने विभिन्न घटना रोक्न महासंघ पनि तयारी अवस्थामा रहेको भन्दै सयायता कक्षले सबैलाई सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

चाडपर्व नजिकिँदै जाँदा सार्वजनिक सवारीमा हुनसक्ने यात्रुको भीडभाड, बढी भाडा लिने, यात्रु सिट क्षमताभन्दा बढी यात्रु चढाउने, टिकटमा कालोबजारी गर्नेजस्ता सवारी र यात्रुका विभिन्न समस्या तथा गुनासोलाई तत्काल सहायता कक्षले सहयोग गर्ने ट्राफिक प्रमुख भट्टले बताए । यात्रु सहायता कक्षमा ट्राफिक प्रहरी, जनपथ प्रहरी र यातायात व्यावसायीका प्रतिनिधि रहनेछन् । 


कस्तो लाग्यो ?

यो पनि