विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ । आइतबारबाट संक्रमितको संख्या १० हजार नाघेको हो । कोरोना संक्रमणका कारण मृतकको संख्या पनि एक सय नाघेको छ ।
हाल त्यहाँ कोरोना संक्रमितको संख्या दश हजार ३ सय पुगेको छ । संक्रमणका कारण मृत्यु हुनेको संख्या १०४ पुगेको छ । कोरोना संक्रमणका कारण आइतबार मात्रै सातजनाको मृत्यु भएको थियो । सोमबार बिहान थप एक जनाको मृत्यु भएको छ ।
मृतकमध्ये प्रदेश १ स्थायी ठेगाना भएका ८८ र अन्य प्रदेशका १५ जना रहेको कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समिति संयोजक डा. सरोज विशालले जानकारी दिए ।
सबैभन्दा बढी मोरङका ४५, सुनसरीका ३०, झापाका १०, ताप्लेजुङ, धनकुटा र उदयपुरमा १–१ जनाको मृत्यु भएको हो ।
संक्रमितमध्ये ४ हजार ८ सय १२ डिस्चार्ज भइसकेका छन् । प्रदेश १ मा १ लाख ३७ हजार ५ सय १७ जनाको कोरोना परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।