मंसिर ०७, २०८१, शुक्रबार
               

कोरोना संक्रमितले लोक सेवा परीक्षा दिन नपाउने

नेपाल फ्ल्यास
असोज २६, २०७७

ADVERTISEMENT

काठमाडौं । कोरोना संक्रमण भएको व्यक्तिले लोक सेवा आयोगको परीक्षा दिन नपाउने भएको छ । 

आयोगले परीक्षा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड जारी गर्दै कोभिड-१९ संक्रमित र हाल आइसोलेसनमा बसेका व्यक्तिहरूले परीक्षा दिन नपाउने जनाएको हो ।

आयोगको परीक्षा दिनका लागि परीक्षार्थी आफू संक्रमित भए/नभएको स्वयंले घोषणा गर्नुपर्नेछ । आयोगबाट सञ्चालन हुने प्रयोगात्मक/सीप परीक्षण सम्बन्धी परीक्षा, अन्तर्वार्ता, सामूहिक छलफल, प्रस्तुतीकरणलगायतका कार्य सञ्चालन गर्दा समेत स्वास्थ्य सुरक्षासँग सम्बन्धित विषयमा यस मापदण्डको पालना गर्नुपर्नेछ । 

उक्त मापदण्डको पालना नगरेको खण्डमा प्रचलित कानुनबमोजिम कारवाही हुने समेत आयोगले जनाएको छ ।  

सरकारले नयाँ विज्ञापन खुलाउन तथा रोकिएका परीक्षा सञ्चालन गर्न आयोगलाई सैद्धान्तिक सहमति दिइसकेको छ । सोही आधारमा आयोगले परीक्षाको तयारी थालेको हो । गत वैशाखदेखि रोकिएको लोक सेवाको विज्ञापन तथा परीक्षा यसै महिना सुरू हुँदैछ । 

१०० जना परीक्षार्थीको लागि एक परीक्षा केन्द्र कायम गरिनेछ । एउटा परीक्षा हल/कोठामा बढीमा २५ जना परीक्षार्थी रहने गरी व्यवस्थापन गरिनेछ। एउटा भवनमा एकभन्दा बढी परीक्षा केन्द्र राखिने छैन । 

तर, पर्याप्त स्थान/भवन भएको अवस्थामा सोही स्थानमा एकभन्दा बढी केन्द्र पनि राख्न सकिनेछ । आयोजकका अनुसार एक परीक्षा केन्द्रमा एकजना केन्द्राध्यक्ष, एक उपकेन्द्राध्यक्ष, प्रति २० जना परीक्षार्थीमा एक सहायक केन्द्राध्यक्ष, एकजना समन्वयकर्ता, प्रति १५ परीक्षार्थी बराबर एकजना निरीक्षक तथा तीनजना सहयोगी जनशक्ति खटाइने छ ।


कस्तो लाग्यो ?

यो पनि