बैशाख १३, २०८१, बिहीबार
               

स्विकृतीबिना फिल्म, भिडियो तथा टिकटकमा बर्दी प्रयोग गर्न नपाइने

नेपाल फ्ल्यास
असोज २२, २०७७

ADVERTISEMENT

नेपाल प्रहरीले स्विकृतीबिना प्रहरीको पोशाक प्रयोग गर्न रोक लगाएको छ । चलचित्र, टेलिचित्र, सर्ट सिनेमा, टिकटक, सांगीतिक भिडियोमा प्रहरीको पोशाकको दुरूपयोग भएको भन्दै प्रहरी प्रधान कार्यालयले स्विकृतीबिना प्रहरीको पोशाक प्रयोग गर्न रोक लगाएको हो ।

बिहीबार विज्ञप्ति जारी गर्दै चलचित्र, टेलिचित्र, सर्ट सिनेमा, टिकटक, प्राङ्क भिडियो, सांगीतिक भिडियोमा प्रहरी पोशाकको दुरूपयोग भएको भन्दै प्रहरी प्रधान कार्यालयले ध्यानाकर्षण भएको जनाएको छ ।

त्यसरी प्रयोग गर्न परेमा नक्सालस्थित कार्यालयको जनसम्पर्क तथा प्रचार प्रसार इकाईमा पोशाक प्रयोग गर्नुको कारण खुलाई स्विकृती लिनुपर्ने प्रावधान रहेको कार्यालयले जनाएको छ । 

अनुमतिबिना प्रयोग गरेमा कानुन बमोजिम कारबाही गरिने कार्यालयका प्रवक्ता एसएसपी कुवेर कडायतले जानकारी दिए ।

‘विभिन्न भिडियो बनाउनको लागि प्रहरीको पोशाकको दुरूपयोग भइरहेको भन्ने कुराहरू आएपछि हामीले विज्ञप्ति निकालेर सबैलाई सचेत बनाएका हौँ,’ एसएसपी कडायतले भने ।

केही दिनअघिमात्र पर्साको वीरगंज महानगरपालिका-१६ स्थित देव पार्टी प्यालेसमा एक पुरुषले आफू प्रहरी इन्स्पेक्टर भन्दै लोकसेवाको परीक्षा समेत गराएका थिए ।

बारा जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ चौधरी टोल बस्ने २९ वर्षीय अजयकुमार राय इन्स्पेक्टरकै पोशाकमा पक्राउ परेका थिए । रायले विगत ९ महिनादेखि प्रहरीको पोशाक लगाएर 'प्रहरी हुँ' भन्दै सक्कली प्रहरीलाई समेत झुक्याउँदै आएका थिए ।


कस्तो लाग्यो ?

यो पनि