जेठ ०३, २०८१, बिहीबार
               

‘लकडाउन अवधिमा आम्दानीको स्रोत रोकियो, तर खर्च रोकिएन’

नेपाल फ्ल्यास
असोज २१, २०७७

ADVERTISEMENT

कोरोनाका कारण विश्व नै आक्रान्त बनाइरहेका बेला नेपाल पनि त्यसको प्रत्यक्ष मारमा परेको छ । ११ चैत २०७६ बाट सुरु भएको लकडाउनका कारण किराना पसलदेखि उद्योगी तथा व्यवसायी प्रत्यक्ष मारमा परेका छन् ।

त्यसैको मार पर्नेमध्ये एक हुन् कागेश्वरी मनोहरा नगरपालिका हरहरमहादेवमा वर्कसप सञ्चालन गरिरहेका कृष्णप्रसाद साह  । विगत १० वर्षदेखि यही क्षेत्रमा काम गर्दै आएका उनले आफ्नै वर्कसप सञ्चालन गरेको अढाइ वर्ष मात्र भएको छ ।

यो अवधिमा वर्कसपको कमाइले समान्य खर्च धान्दै आएको बताउँदै उनले लकडाउनका कारण भाडा बुझाउन गाह्रो भइरहेको बताए । ‘पहिलेजस्तो मानिसको चहलपहल छैन । पहिले निकै भीडभाड हुने गरेकोमा  हाल दैनिक औषत १०/१२ वटा मात्रै बाइक आउँछन् । पहिले घरयासी खर्च मात्रै धान्दै आए पनि लकडाउनका कारण त्यो पनि हराएको छ,’ उनले भने, ‘लकडाउनका कारण मानिसको चहलपहल पहिलेभन्दा निकै कम भएको  छ । काठमाडौंमा महिनाको भाडा मात्रै १७ हजार तिर्नुपर्छ ।’

विगत चार महिना विनाकाम भाडा मात्रै तिर्दा र हाल काम पनि घट्दा व्यवसाय नै धरापमा परेको उनले बताए । 

सर्लाही बरहथवा नगरपालिका-११का साहले आफ्नै वर्कसप सञ्चालन गरेको करिब अढाई वर्ष मात्र भएको छ । १० वर्ष अर्काको वर्कसपमा काम गरी आफ्नै वर्कसप सञ्चालन गरी स्वरोजगार बनेका उनी कोरोनाले बेरोजगार पो बनाउँछ कि भनी चिन्तित हुने गरेको बताउँछन् । 

लामो समय अर्काकामा काम गरेर सीप सिकी भर्खरै स्वरोजगार भएका उनलाई आजकाल स्वरोजगार त कहाँ हो कहाँ कामदारै हुन नपाइने हो कि भन्ने चिन्ताले सताउने गरेको छ । यसैमा जोड्दै उनले भने, ‘सरकारले कोरोना प्रभावितका लागि अर्बौ खर्च गरेको विभिन्न माध्यमबाट सुन्ने गरे पनि परिमाण आएको कुराचाहिँ खासै सुन्न नपाउँदा अलि दु:ख लाग्छ ।’

‘लकडाउनका कारण आम्दानीको स्रोत रोकियो, तर खर्च रोकिएन । सरकारले नागरिकलाई घरमै बसी सहयोग गर्न आह्वान गर्‍यो,’ उनले भने, ‘नागरिकले पनि त्यहीअनुरुप सहयोग गरे, तर सरकारले मजस्तालाई राहत पुग्नेखालका कुनै पनि योजना ल्याउन सकेन ।’

पातलो ज्यान, लामोलामो कपाल पालेका साह काममा निकै लगनशील छन् । उनी आफ्नो वर्कसपमा आउने जोकोहीलाई  देवतासमान मान्छन् । उनी भन्छन्, ‘मेरो वर्कसपमा आउने सबै कस्टुमर मेरा लागि देउता नै हुन् ।’ सायद यही मान्यताका कारण होला उनी जोकोहीसँग सफ्ट व्यवहार गर्छन् । र नरम बोल्छन् ।

उनले आफ्नो वर्कसपमा जुनसुकै ब्राण्डका बाइक रिपियर, सेकेण्ड ह्याण्ड बाइक बिक्री र  होम सर्भिसिङको पनि व्यवस्था रहेको जनकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि