जेठ ०३, २०८१, बिहीबार
               

दसैँमा अग्रिम टिकट बुकिङ अन्योलमा, पाँच लाख यात्रु बाहिरिने सम्भावना

नेपाल फ्ल्यास
असोज २१, २०७७

ADVERTISEMENT

कोरोना महामारीका कारण यसपालि दसैँमा लामो र मध्यम दुरीका यातायातको अग्रिम टिकट बुकिङ खुल्ने विषय अन्योलमा परेको छ । अघिल्ला वर्षहरूमा महिना दिनअघि अग्रिम बुकिङ सुरु हुने भए पनि यसपालि अन्योलमा छ ।

उपत्यका बाहिर जाने यात्रुहरूमा कोरोनाका कारण यसअघि नै २ लाख जना भन्दा बढी मानिस बाहिरीसकेका छन् । यसअघि कोरोना रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनमा उपत्यकाबाहिर गएका धेरै सर्वसाधारण उपत्यका भित्रिएका छैनन् । यसकारण विगतको वर्षमा दसैँमा बाहिरिने यात्रुहरूको सङ्ख्या यस पटक घट्ने सरकारी निकायको आङ्कलन छ ।

यस वर्षको दसैँमा चार/पाँच लाखको सङ्ख्यामा मात्रै यात्रु बाहिरिने देखिएको छ । जसकारण अग्रिम टिकट बुकिङ आवश्यक नपर्ने देखिएको यातायात व्यवस्था विभागको भनाई छ ।

यातायात व्यवस्था विभागले मंगलबारदेखि बुकिङ खुलाउन व्यवसायीलाई प्रस्ताव गरेको थियो । तर व्यवसायीले अहिले चलिरहेका बसमै पर्याप्त यात्रु नभएको भन्दै थप छलफल गर्नुपर्ने बताएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले अग्रिम टिकट बुकिङबारे छलफल गर्न शनिबार लामो दूरीमा सवारी चलाउने सदस्य कम्पनीका अध्यक्षहरुसँग छलफल गर्दैछ । उक्त छलफलपछि महासंघको बैठक बसेर अग्रिम टिकट बुकिङबारे निर्णय गर्ने व्यावसायीहरु बताउँछन् ।

डा. लोकनाथ भुसाल, निर्देशक, यातायात व्यवस्था विभाग

यातायात व्यवस्था विभागका निर्देशक डा. लोकनाथ भुषालले अग्रिम टिकट बुकिङ खुला गर्ने वा नगर्ने सम्बन्धमा व्यवसायीहरूसँग छलफल गरेर मात्रै निर्णयमा पुगिने बताए ।

‘अहिले पनि काठमाडौंबाट मध्यम र लामो दुरीका सवारी साधनमा आधा सङ्ख्यामा पनि यात्रु पाइएको छैन, विगतको समयमा यो समयमा निक्कै भिड हुन्थ्यो,’ उनले भने ‘ कोरोना जोखिमका कारण यो पटक धेरैले उपत्यका नछाड्ने अवस्था समेत देखिएको छ । ’ 

तर पनि २५ गतेपछि यात्रुको सङ्ख्या बढ्ने सम्भावना देखिएकोले टिकट बुकिङको व्यवस्था कसरी मिलाउने भन्ने सम्बन्धमा व्यवसायीहरूसँग छलफल गरी टुङ्गोमा पुगिने विभागका निर्देशक डा. लोकनाथ भुसालले बताए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ सङ्क्रमणको स्थितिलाई हेरेर 'आफू जहाँ छौँ, त्यहीँ दसैँ मनाउन' अर्थात् यात्रा नगर्न आग्रह गरेको छ । यसकारण पनि मानिसहरूको आवागमन कम हुने आङ्कलन आफूहरूको रहेको भुसालले बताए ।

तर अग्रिम टिकट बुकिङको व्यवस्था नभए पनि दसैँमा घर जान चाहने यात्रुलाई व्यवस्थित रूपमा सुरक्षित तरिकाले सरकारले तोकेको भाडदारमा सहजै यात्रा गर्न पाउने व्यवस्था मिलाउने उनको भनाइ छ ।

फाइल फोटो

गएको वर्ष दसैँको बेलामा झन्डै २० लाख मानिस काठमाडौंबाट बाहिरिएका थिए । तर अहिले चार पाँच लाखको सङ्ख्यामा मात्रै यात्रु बाहिरिने सम्भावना देखिएकाले अग्रिम टिकट बुकिङको आवश्यकता नपर्ने भुसालको भनाइ छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सक्रिय कोरोना संक्रमितको संख्या २५ हजार नाघेमा उपत्यकामा फेरि लकडाउन गर्न सिफारिस गरेको छ । अहिले सक्रिय संक्रमतिको संख्या २२ हजार नाघेको छ ।

अहिले टिकट काटेर पछि जान नपाउने अवस्था आएर पैसा फिर्ता गर्न असहज हुने कारणले पनि टिकट बुकिङ ढिलाई भएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि