बैशाख १७, २०८१, सोमबार
               

कोरोनाको डरले समुदायमा ऐँचोपैँचो बन्द

नेपाल फ्ल्यास
असोज १९, २०७७

ADVERTISEMENT

टीकापुर । कोरोना कहरले सबैभन्दा वढी जनस्वास्थ्यका क्षेत्रमा गम्भीर असर पुर्याएको छ । यसले सामाजिक परम्परा र प्रचलनलाई समेत परिवर्तन गरिदिएको छ । गाउँघरमा चल्दै आएको ऐँचोपैँचो गर्न अहिले मानिसहरु डराउन थालेका छन् । भजनी नगरपालिका–२ का भागीरथ विकले आजभोली छिमेकीसँग तरकारी ऐँचोपैँचो गरेर खान पनि छोडेको बताए ।

‘छिमेकमा तरकारी, अन्नपात साटेर खाने चलन थियो, कहिलेकाही छाक टार्न सजिलो हुन्थ्यो’, उनले भने, ‘‘कोरोना भाइरस  सङ्क्रमणको डरले बाडीचुडी खान पनि बन्द भयो । जीवन अलि अप्ठ्यारो भएको छ ।’ गाउँका एक घरमा कुनै चिज भए गाउँभरीको काम चल्ने चलन रहेको थियो ।

अहिले कोरोनाका कारण गाउँघरमा पैँचो दिने कुरामा आनाकानी गर्ने गरेको विशालनगर शिविर टीकापुरका जयसुर सार्कीले सुनाए । ‘हामी विपन्न समुदायका मानिस एउटाको घरमा दाल पकाए अर्कोले तरकारी पकाएर खाने चलन छ’, उनले भने, ‘आजभोलि एक अर्काको घर आजजाउ नै बन्द छ ।

बाडेर खाए त रोग सर्ला भन्ने डर छ ।’ टीकापुर ४ की रुबिना साउँदको दुई वर्षीय छोरा छन् । रुविना र उनका छिमेकीको आँगन एउटै छ । सधैँ छिमेकीको घरमै खेल्ने छोराले रुबिनालाई निकै पिरोलेको छ । रुविनाका श्रीमान् जागिरे छन् । ‘६ महिनादेखि छोरालाई छिमेकीको घर जान दिएकी छैन, उनीहरुले तिम्रो श्रीमान् घरबाहिर निस्कन्छन्, जोखिम छ यहाँ नआउ भन्छन्’, रुबिना भन्दछिन्, ‘ठीकै हो, अरुलाई किन जोखिममा पार्नु रु तर बच्चाले मानेको छैन ।

आँगनमा बार लगाएर बच्चा रोकेकी छु, बाँडीचुँडी खान बन्द भएको त ६ महिना पुग्यो ।’ पछिल्लो समय कोभिड–१९ को जोखिम समुदायस्तरमा फैलिरहकाले नागरिक बढी त्रसित हुन थालेका बताइएको छ । यो सँग–सँगै गाउँघरमा मानिसहरु वल्लोपल्लो घर आउजाउ गर्ने आनीबानीमा पनि कमी आएको जानकी गाउँपालिका ५ की कलावती चौधरीले बताइन् ।

‘फुर्सदमा छिमेकमा जम्मा भएर गफ गर्ने, समुदायका समस्याबारे छलफल गर्ने चलन थियो’, उनले भनिन्, ‘‘अचेल त बोल्न पनि डराउँछन्, कामकाजी मानिसको त कोही नजिक पनि पर्न चाहन्न ।’ गाउँघरमा आफन्तबीच घेटघाट हुने,भलाकुसारी गरिने र दुःख सुख बाँड्ने चलन सँगसँगै अभाव भएको नुन, तेल लगायतका सामान छिमेकीसँग माग्दा सम्बन्ध नजिक हुने कुरामा सकारात्मक होला ।

कोरोनाको प्रभाव बढिरहेका बेला यसरी आपसी भेटघाट र अ‍ैचोपैचो गर्नु स्वास्थ्यका दृष्टिकोणले जोखिम भएकाले केही समय नगरेकै राम्रो हुन स्वास्थ्यकर्मीहरु बताउँछन् । ‘केही समय बाच्नका  लागि यसो गरिनुलाई गलत रुपमा नबुझौँ, बाचे फेरि राम्रा चलन अपनाउन सकिन्छ’, टीकापुर नगरपालिकाका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले भने, ‘सुरक्षित तवरले सरसापट र सहयोग गर्दा हुन्छ, मानिसलाई हेर्नै नहुने होइन तर सुरक्षित हुनुपर्ने हो, सामाजिक दुरी कायम गरेर कोरोनाबाट बचौँ ।’ 


कस्तो लाग्यो ?

यो पनि