जेठ ०३, २०८१, बिहीबार
               

आकाशे पानी संकलनको लागि घैँटो निर्माण

नेपाल फ्ल्यास
असोज १८, २०७७

ADVERTISEMENT

झिमरुक । प्युठानको ऐरावती गाउँपालिकामा आकाशेपानी संकलनका लागि घैँटो बनाइएको छ । पानीको समस्या रहेको यस क्षेत्रमा स्थानीयलाई पानीको सहज पहुँचका लागि घैँटो निर्माण गरिएको हो ।

पानीको विकराल समस्या रहेको बिजुली क्षेत्रमा पानीको समस्या समाधान गर्ने उद्देश्यले वडा कार्यालयबाट बजेट विनियोजन गरी घैँटा निर्माण गरिएको वडा नं ६ का अध्यक्ष चन्द्रबहादुर रानामगरले बताए ।वडासचिव उमाराम आचार्यका अनुसार आर्थिक वर्ष २०७४–७५ बाट घैँटो निर्माणको काम सुरु गरिएको हो ।

पहिलो वर्ष १७ लाख रुपैयाँको लागतमा २७ वटा घैँटो बनाइएको थियो । त्यस्तै आव २०७५–७६ मा पाँच लाखको लागतमा आठवटा घैँटो निर्माण गरिएको छ । त्यस्तै आव २०७६–७७ मा २५ लाख रुपैयाँको लागतमा ३८ वटा घैँटो निर्माण गरिएको छ । ४२ वटा घैँटो निर्माण गर्ने गरी बजेट विनियोजन गरे पनि बन्दाबन्दीले चारवटा घैँटो निर्माण हुन नसकेको वडासचिव आचार्यले बताए । स्थानीय उपभोक्ता समितिमार्फत साढे छ घनमिटरको घैँटो निर्माण गरिएको हो ।

पच्चीस प्रतिशत स्थानीयको जनश्रमदानमा घैँटो निर्माण गरिएको आकाशेपानी संकलन घैँटो निर्माण समितिका अध्यक्ष गिरीप्रसाद घिमिरेले बताए । विगत तीन वर्षदेखि अध्यक्षको जिम्मेवारीमा रही घैँटो निर्माणको काम गरेको उनको भनाइ छ । अघिल्ला आर्थिक वर्षमा निर्माण गरिएका घैँटोमा पानी संकलन गरी स्थानीयले पानी प्रयोग गरेको छन् भने आव २०७६–७७ मा निर्माण गरिएका घैँटोमा पनि पानी संकलन सुरु भएको अध्यक्ष घिमिरेको भनाइ छ ।

वडा कार्यालयमार्फत टिनको छाना भएका, गरिब, विपन्न र पानीको पहुँचबाट टाढा रहेका व्यक्ति छनोट गरी घरमा घैँटो निर्माण गरिएको वडासचिव आचार्यले बताए । पिउने पानीसमेत किनेर खानुपर्ने अवस्था रहेको यस क्षेत्रमा घैँटो निर्माणपश्चात स्थानीयवासीलाई सहज भएको उनले बताए । स्थानीय तह निर्माणपूर्व खानेपानी डिभिजन कार्यालयमार्फत पनि केही घैँटो निर्माण भएको उनले बताए । 

वडा कार्यालयको सहयोगमा घैँटो निर्माण भएपछि यहाँका स्थानीय खुशी भएका छन् । बिजुली बासडाँडाका स्थानीय नुमलाल पोखरेलले पानीको समस्या रहेको यस क्षेत्रमा घैँटो निर्माणले सहज हुने बताए । वर्षातको समयमा आकाशबाट परेको पानी टिनबाट घैँटोमा जम्मा गर्ने उनको भनाइ छ । गाईवस्तुलाई खुवाउन, कपडा धुन, नुहाउनका साथै तरकारीखेती सिँचाइका लागि पनि सहज हुने पोखरेलले बताए ।

वर्षात्को समयमा आकाशबाट परेको पानी टिनमार्फत घैँटोमा संकलन गरी प्रयोग गर्न पाएपछि यहाँका स्थानीयवासीलाई राहत मिलेको बिजुली चिउरापानीकी स्थानीय कुन्ता थापाले बताइन् । स्थानीय तह निर्वाचनमा वडाध्यक्ष निर्वाचित भएपश्चात यहाँका जनताको पानीको समस्या बुझी घैँटो निर्माण गरिएको वडाध्यक्ष रानामगरले बताए ।

जनता माध्यामिक विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालय र यस नजिकका बस्तीमा लिफ्टमार्फत खानेपानीको व्यवस्था गरिएको छ भने अन्यका लागि घैँटो बनाइएको हो । वडा कार्यालयले यो वर्ष पनि घैँटो निर्माणका लागि रु १५ लाख बजेट विनियोजन गरिएको जनाएको छ । 


कस्तो लाग्यो ?

यो पनि