बैशाख २०, २०८१, बिहीबार
               

बाढी प्रभावितलाई प्रवासीको २७ लाख ८० हजार सहयोग

नेपाल फ्ल्यास
असोज १२, २०७७

ADVERTISEMENT

बागलुङ । बागलुङ गलकोट समाज जापानले ढोरपाटनका बाढी प्रभावितका लागि २७ लाख ८० हजार ४७८ राहत सहयोग गरेको छ ।

गलकोट नगरपालिकाका प्रमुख भरत शर्मा गैरेले राहत कोषमा दाखिला भएको रकमको भौचर आइतबार ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीलाई हस्तान्तरण गरे ।

रोजगारीका सिलसिलामा जापानमा रहेका ६०० भन्दा बढी प्रवासी नेपालीबाट बाढी प्रभावितका लागि राहत रकम सङ्कलन गरिएको थियो । बाढी प्रभावितको पुनर्स्थापनामा सघाउन राहत अभियान चलाइएको समाजका अध्यक्ष दिलु खत्रीले बताए ।

“बाढी प्रभावितको घाउमा मलम लागोस् भनेर सहयोग जुटायौँ, तत्कालै राहतको अनुभूति हुने गरी काम होस्”, उनले भने । समाजले दिएको सहयोग रकम बाढीमा बास गुमाएका परिवारको घर निर्माणमा खर्च गरिने ढोरपाटनका नगरप्रमुख देवकुमार नेपालीले बताए । उनले समाजका तर्फबाट बाढी प्रभावित ६ परिवारका लागि रु पाँच लाख बराबरको घर बनाइदिने प्रतिबद्धता जनाए ।

गलकोटका नगरप्रमुख गैरेले राहतको सही सदुपयोग हुनेमा विश्वास व्यक्त गरे । गत भदौ १७ गते भुजीखोलामा आएको बाढीले सयौँ परिवार घरवासविहीन बनेका छन् । बाढीमा परी २२ जनाको ज्यान गएको थियो भने १५ अझै बेपत्ता छन् ।

कैयौँ भौतिक संरचनामा क्षति पुगेको छ । बाढी प्रभावितका लागि देश–विदेशमा राहत अभियान चलाइएको छ । हालसम्म राहत कोषमा रु एक करोडभन्दा बढी जम्मा भएको ढोरपाटन नगरपालिकाले जनाएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि