काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत औषधि व्यवस्था विभागले विषाक्त रसायन मिश्रित ह्यान्ड सेनिटाइजर बिक्री वितरणमा रोक लगाएको छ ।
राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको सेनिटाइजरको नमूना परीक्षणमा विषाक्त रसायन मेथानल मिश्रण गरेको भेटिएकोले मानव स्वास्थ्यमा हानी पुर्याउने भन्दै विभागले त्यस्ता सेनिटाइजर प्रयोग नगर्न भनेको हो ।
गोरखापत्रमा सोमबार सूचना निकालेर विभागले विषाक्त रसायन मेथानल समावेश भएको तथा मापदण्ड विपरीतका समिश्रण सेनिटाइजरमा पाइएकोले त्यसले मानव स्वास्थ्यमा गम्भीर नकरात्मक असर पार्ने उल्लेख गरेको छ ।
त्यस्ता सेनिटाइजर सर्वसाधारणहरूले प्रयोग नगर्न, नगराउनु हुन र त्यस्ता सेनिटाइजरहरूको उत्पादन तथा विक्री वितरण अविलम्ब रोक्का राख्नसमेत विभागले आग्रह गरेको छ ।
यसअघि पनि मापदण्ड विपरीतका सेनिटाइजर बजारमा आएपछि विभागले विक्री वितरणमा रोक लगाएको थियो ।
कोरोनाभाइरस महामारीपछि सेनिटाइजरको माग धेरै छ ।