कञ्चनपुर । सडक सेवा शुःल्कको विरोधमा कृष्णपुर नगरपालिकाका सवारीधनीहरुले आज पूर्व–पश्चिम राजमार्ग अबरुद्ध गरी आन्दोलनमा उत्रिएका छन् ।
सडकमा सवारी साधन गुडाएवापत नगरपालिकाले कर लिन थालेपछि त्यसबिरुद्ध नेपाली काँग्रेसको अगुवाइमा सवारी धनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
सडक अबरुद्ध हुँदा मध्याह्देखि सडकमा सवारीसाधन सञ्चालन हुन सकेका छैनन् ।
नगरपालिकाले सडक सेवा शुल्क कर उठाउनका लागि १० लाख रुपैयाँमा ठेक्का सम्झौता गरेको छ ।
नगरपालिकाले दोहरो कर लिन थालेपछि आन्दोलनमा उत्रिनु परेको सवारीधनीहरुको भनाइ छ ।
ट्रक, ट्याक्टर, अटोरिक्सा, जीपलगायतका सवारी र ढुवानीका साधनबाट ठेकेदारले रकम असुल्न थालेपछि सवारीधनीहरु आन्दोलनमा उत्रिएका हुन् ।
ठेकेदारले नगरपालिकाभित्रका सडकमा गुड्ने सवारी र ढुवानीका साधनबाट ५० देखि १०० रुपैयाँसम्म असुल्न थालेपछि सवारीधनीहरुले पूर्व–पश्चिम राजमार्ग अबरुद्ध गर्नुपरेको बताएका छन् ।
नगरपालिकाले सवारी साधनबाट शुल्क असुल्ने नीतिमा परिवर्तन नगरे आन्दोलन जारी रहने व्यवसायी हरिबहादुर गैरालले बताए ।
उनको संयोजकत्वमा सङ्घर्ष समिति समेत गठन गरिएको छ ।
गत शुक्रबार समेत सवारीधनीहरुले सवारीका साधन लगेर नगरपालिका कार्यालय घेराउ गरी सडक करको विरोध गरेका थिए ।
नगर प्रमुख कर्णबहादुर हमालले नेपालको संविधान र स्थानीय सरकार सञ्चालन ऐनले दिएको अधिकार प्रयोग गरी नगरपालिकाले सडक सेवा शुल्कका लागि ठेक्का सम्झौता गरेको बताए ।
उनले सडक अबरुद्ध गर्दा सर्वसाधारणले दुःख पाउने हुँदा वार्ताबाटै समस्या समाधान गर्न आह्वान गरे ।