असोज ०६, २०८१, आइतबार
               

बन्द रहेको पयर्टन व्यवसाय चलायमान बनाउन छुटको घोषणा

नेपाल फ्ल्यास
असोज ११, २०७७

ADVERTISEMENT

काठमाडौं ।  कोरोना सङ्क्रमणसँगै बन्द रहेको पयर्टन व्यवसायलाई चलायमान बनाउन व्यवसायीले छुटको घोषणा गरेका छन् ।

सौराहाका पर्यटन व्यवसायीले विश्व पर्यटन दिवसका अवसरमा आइतबार आयोजना गरेको कार्यक्रममा २० देखि ३० प्रतिशत छुटको घोषणा गरेका हुन् ।

कार्यक्रममा क्षेत्रीय होटल संघ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराईले पर्यटनसँग सम्बन्धित सबै व्यवसायमा छुट गरिने बताए । उनले भने, ‘व्यवसायको प्रकृतिअनुसार २० देखि ३० प्रतिशतसम्म छुट समावेश गरेर एक साताभित्र प्याकेज सार्वजनिक गर्छौँ ।’

लकडाउनले थला परेको सौराहाका व्यवसायीले सन् २०२० मा सरसफाई र सम्पूर्ण तयारी गर्ने, सन् २०२१ मा व्यापक प्रचारप्रसार गरी सन् २०२२ मा पर्यटन व्यवसायलाई पूर्ववत अवस्थामा फर्काउने गृहकार्य थालेका छन् । भट्टराईले देशका प्रमुख शहरमा घुमौ चितवन अभियानका साथ जाने बताए ।

उनले प्रमुख सहरमा सरोकारवालालाई राखेर चितवन वा सौराहा साँझ कार्यक्रम गर्ने बताए । ती कार्यक्रमका लागि जिल्ला समन्वय समिति, रत्ननगर नगरपालिका, पर्यटन बोर्डलगायत सङ्घ संस्थासँग समन्वय भइरहेको उनको भनाइ थियो । 


रेष्टुरेण्ट एण्ड बार एसोसिएशन (रेवान)का अध्यक्ष दीपेन्द्र खतिवडाले हप्ताको दुई दिन बिदाको निर्णय भएमा पर्यटन व्यवसायमा केही सहयोग पुग्ने बताए । सन् २०२२ सम्म विदेशी पर्यटक आउने सम्भावना कम भएकाले देशदर्शन अभियान गर्नुपर्नेमा जोड दिए । 
 
सोही अवसरमा युनाइटेड हात्ती सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारी, कुमरोज मध्यवर्ती सामुदायिक वनका अध्यक्ष गणेश श्रेष्ठ, साना पर्यटन व्यवसायी संघका अध्यक्ष सरस्वती चालिसे र बाघमारा मध्यवर्ती सामुदायिक वनका अध्यक्ष जीतबहादुर तामाङले सौराहामा कोभिड नियन्त्रणका लागि सरकारले लागू गरेको सम्पूर्ण मापदण्ड पूरा गरेर व्यवसाय शुरु भएकाले सन्देश प्रवाह गरिदिन अनुरोध गरे ।


कस्तो लाग्यो ?

यो पनि